राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्छः वरिष्ठ नेता पौडेल

स्वर्णिम खबर
१९ पुष २०७९, मंगलवार १५:०९

१९ पुस, काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताउनुभएको छ ।
मंगलवार स्पिकर्स फोरम नेपालले काठमाडौंमा आयोजना गरेको प्रदेश सभाको आगामी कार्यभार र स्पिकर्स फोरम नेपालको दायित्व विषयक अन्तरक्रियामा बोल्दै वरिष्ठ नेता पौडेलले राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताउनुभएको हो । उहाँले देशको अर्थतन्त्र खतरनाक अवस्थामा रहेको तथा राजनीतिक, आर्थिक र सामाजिक लगायतका समस्याहरुले घेरिरहेकाले समस्या समाधानका लागि राष्ट्रिय सहमतिको आवश्यकता रहेको बताउनु भयो । उहाँले वर्तमान व्यवस्था र संविधानको रक्षाका लागि सबै मिलेर राष्ट्रिय सहमति खोज्नुपर्नेमा जोड दिनुभयो । लामो संर्घर्षबाट आएको राजनीतिक परिवर्तनलाई जोगाउँदै सबै एक भएर राष्ट्रिय सहमति गरेर अघि जानुपर्ने उहाँको भनाई छ ।
वरिष्ठ नेता पौडेलले नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) लगायतको विगतको गठबन्धन हाइज्याक भएको टिप्पणी गर्नुभयो । उहाँले आफूहरुले गरेको हिसावकितावले काम नगरेको बताउनु भयो । उहाँले विगतमा आफूहरुका बीचमा भएको गठबन्धन टुट्नु देशको लागि दुर्भाग्य भएको बताउनु भयो । देशमा अस्थिरताको श्रृङ्खला अगाडी बढेको उहाँले बताउनु भयो ।
वरिष्ठ नेता पौडेलले सांसदहरुलाई ऐन, कानून बनाउनका लागि जनताको प्रतिनिधिको रुपमा पठाइने भएपनि सांसदहरु विकास निर्माणको काममा मात्रै केन्द्रीत हुने गरेका बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*