निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण छिट्टै सुरु हुन्छः प्रधानमन्त्री प्रचण्ड
१७ पुस, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण छिट्टै सुरु गर्ने बताउनुभएको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले नेपाल जस्तो भूपरिवेष्ठित मुलुकको कनेक्टिभिटीका लागि हवाईमार्ग सबैभन्दा प्रभावकारी माध्यम भएको उल्लेख गर्दै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आवश्यक रहेको उल्लेख गर्नुभयो । प्रधानमन्त्री दाहालले चीनसँगको सीमा नाका खुलाइ सहज बनाउने तथा रेलसेवा लगायतका परियोजना निर्माणमा सहयोग गर्नसमेत चीन सरकारसमक्ष आग्रह गर्नुभयो । उहाँले पोखरा विमानस्थल निर्माणका लागि चिनियाँ राजदूतावासमार्फत तथा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग प्रत्यक्ष भेटेर पनि छिटो निर्माणका लागि आफूले पहल गरेको पनि दाबी गर्नुभयो ।
प्रधानमन्त्री प्रचण्डले सामाजिक न्याय, सुशासन र जनताको समृद्धिको मूल मन्त्र बनाई आफू नेतृत्वको सरकारले काम गर्ने उल्लेख गर्नुभयो । उहाँले आफूले बाँकि जीवन मुलुकको आर्थिक विकास र समृद्धि तथा सुशासन र सामाजिक न्यायका लागि भनेर निर्वाचनका बेला जनताको सामू कवुल गरेको पनि दाबी गर्नुभयो ।
कार्यक्रममा सो विमानस्थल निर्माणमा योगदान पु¥याउनु भएको पूर्वपर्यटनमन्त्रीहरुलाई पनि सम्मान गरिएको थियो ।













