बागमती गोल्डकपको पाँचौ संस्करण पुस २४ गतेदेखि हुने

स्वर्णिम खबर
१६ पुष २०७९, शनिबार ११:५५

१६ पुस, हेटौँडा । बागमती गोल्डकपको पाँचौ संस्करण यही पुस २४ गतेदेखि हुने भएको छ ।
बागमती गाउँपालिका खेलकुद विकास समितिले शनिबार हेटौंडामा पत्रकार सम्मेलन गरि प्रतियोगिता बारे जानकारी गराएको हो । पत्रकार सम्मेलनमा बोल्दै प्रतियोगिताका संयोजक टिकालाल श्रेष्ठले जनता माविको खेल मैदान पुस २४ गतदेखि माघ ३ गतेसम्म प्रतियोगिता हुने जानकारी दिनुभयो । बागमती गाउँपालिकाको मुख्य प्रायोजन तथा बागमती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा प्रतियोगिता हुन लागेको हो । एक विदेशी सहित ७ वटा ए डिभिजन क्लब र २ वटा मोफसलको क्लब गरी १० वटा टिमले सहभागिता जनाउने संयोजक श्रेष्ठले बताउनुभयो । प्रतियोगिताका बिजेताले नगद ८ लाख रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै द्वितीय हुनेले नगद ४ लाख रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने संयोजक श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५१ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र, विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई जनही नगद १०÷१० हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र, हरेक खेलको म्यान अफ द म्याच खेलाडीले नगद ५ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने उहाँले बताउनुभयो । प्रतियोगिताको लागत करिव ७१ लाख हुने अनुमान आयोजकले गरेको छ । बागमती गाउँपालिकाबाट ३५ लाख प्राप्त हुने तथा अन्य खर्च प्रदेश खेलकुद परिषद्, राष्ट्रिय खेलकुद परिषद्, प्रायोजक, विभिन्न व्यक्ति तथा संस्थाहरुबाट सहयोगको लागि अनुरोध भइरहेको आयोजकले जनाएको छ ।
आयोजक बागमती क्लब सहित त्रिभुवन आर्मी, नेपाल पुलिस क्लब, एपिएफ क्लब, मछिन्द्र युवा क्लब, हिमालय शेर्पा युवा क्लब, चर्च ब्याइज युनाईटेड, मकवानपुर हेटौंडा ११, जाउलाखेल युथ क्लब र भुटानिज युथ स्पोर्ट्स क्लब अमेरिकनको सहभागिता रहने आयोजकले जानकारी दिएको छ । प्रतियोगिताको २०७८ को चौथो संस्करण अफ्रिकन स्ट्स एशोसिएसन क्यामरुनलाई हराउँदै थ्रीस्टार क्लवले जितेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*