दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत लिन नै कठिनः काँग्रेस नेता विश्वकर्मा
१२ पुस, काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता मीनबहादुर विश्वकर्माले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत लिन नै कठिन हुने दावी गर्नु भएको छ ।
काँग्रेस जस्तो लचिलो पार्टीलाई त मिलाएर जान नसक्ने प्रधानमन्त्री दाहालले ७ वटा राजनीतिक पार्टीहरुलाई मिलाएर विश्वासको मत लिन कठिन हुने उहाँको तर्क थियो । मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता विश्वकर्माले ३० दिन भित्र विश्वास मत लियो भने दाहाल नेतृत्वको सरकार २ वर्षसम्म चल्ने अनुमान समेत गर्नुभयो । संघीयता नै नचाहिने राष्ट्रिय स्वतन्त्र पार्टी, राजा आउ भन्ने राप्रपालगायतका राजनीतिक दलहरु रहेको वर्तमान गठबन्धन सरकार टिक्न गाह्रो हुने पनि उहाँले बताउनु भयो ।
यसैगरी कार्यक्रममा बोल्दै सत्तारुढ नेकपा (एमाले)का सांसद सूर्य थापाले संवैधानिक, कानुनी र राजनीतिक सबै हिसावले सत्तारुढ गठबन्धनको सरकार बनेको र यो सहज ढंगले अघि बढने बताउनु भयो । उहाँले पार्टीले आवश्यक ठाने आफू पनि सरकारमा जान योग्य रहेको समेत बताउनु भयो ।
अर्का सत्तारुढ माओवादी केन्द्रका नेता दिनानाथ शर्माले आफूहरुले मिलेर सरकार चलाउने बताउनु भयो ।













