सबल पक्षको भरपुर सदुपयोग गरेर मेडल भित्राउँछौँः मुख्य प्रशिक्षक भट्ट
२९ मंसिर, काठमाडौँ । बंगलादेशको ढाकामा पुस ५ गतेदेखि ११ गतेसम्म काभा यु–२३ भलिबल प्रतियोगिता आयोजना हुँदैछ ।
सोही प्रतियोगिताका लागि नेपाली टोलीले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा तयारी गरिरहेको छ । बिहान र साँझ गरी दुई समयमा सुखद् नतिजा निकाल्ने लक्ष्यसहित तयारीलाई तिब्रता दिइरहेको हो । पहिलो पटक सहभागिता जनाउने लागेको उमेर समूहको प्रतियोगितामा नयाँ खेलाडीलाई अवसर दिइएको छ । लामो प्रक्रियाबाट छनोट हुँदै आएका खेलाडीलाई संघले बन्द प्रशिक्षण राखेर अभ्यास गराइरहेको हो । आयोजक बंगलादेश, श्रीलंका, किर्गिस्तान र नेपालले सहभागिता जनाएको प्रतियोगितालाई सार्थक पार्न विगत ४० दिनदेखि नेपाली टोली तल्लिन छ ।

नेपाली टोलीलाई दुई सिफ्टमा अभ्यास गराइरेहका मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्टले बलिया टोलीबिरुद्ध नेपालले प्रतिष्पर्धात्मक खेल खेल्ने विश्वास व्यक्त गर्नुभयो । ८० जनाको प्रारम्भिक छनोट पार गर्दै अन्तिम १४ खेलाडीको टुङ्गो लागिसकेको अवस्थापनि नयाँ खेलाडी केही शारीरिक र मानसिक कमजोरी भएको बताउनु भयो । तर पनि दैनिक ७ घण्टाको प्रशिक्षण र घरेलु टोलीसँगको अभ्यास खेलबाट मनोबल दिलाउने बताउनुभयो ।

एक सातासम्म आयोजना हुने प्रतियोगिताको तालिका सार्वजनिक पनि भइसकेको छ । सार्वजनिक भएको तालिका अनुसार नेपालले उद्घाटन खेलमा आयोजक बंगलादेशसँग खेल्नेछ । बंगलादेश सिनियर टोलीमा नेपाल भन्दा बलियो भएपनि उमेर समूहमा नेपाल जस्तै अगाडि बढ्दै गरेको टोली हो । यस्तै अन्य प्रतिष्पर्धी टोली पनि उदाउँदै गरेका भएकाले नेपालको सम्भावना रहेको प्रशिक्षक भट्टको बुझाई छ । चार दशक सहभागिता जनाउन नसकेको अवस्थामा उमेर समूहको नेपाली टोलीको सहभागिता अनुभव लिने अवसर भएको भएको बताउनु भयो । सहभागिता जनाउँदै गर्दा लक्ष्य स्वर्ण पदक जित्ने राखेको तर सहभागिताको हिसावमा पहिलो भएकाले कम्तीमा पनि मेडल ल्याउनेमा प्रशिक्षक भट्ट आशावादी छन् । अहिले बन्द प्रशिक्षणमा रहेको टोलीमा सबल र दुर्बल पक्ष सबै भएको र सबल पक्षको भरपुर सदुपयोग गर्दै प्रतियोगितामा नेपाली टोली अगाडि बढ्ने बताउनु भयो ।

चार टोलीले सहभागिता जनाउने प्रतियोगिता राउण्ड रोविन लिगको आधारमा सञ्चालन हुनेछ । पहिलो खेल नेपालले बंगलादेशसँग खेल्दा लिगको दोस्रो खेल ८ पुसमा श्रीलंकासँग तथा ९ पुसमा किर्गिस्तानसँग खेल्नेछ । चार टोलीको मात्रै सहभागिता रहेकाले सबै टोली सेमिफाइनलमा पुग्नेछ । जस अन्तर्गत शीर्ष टोलीले पुछारमा रहने टोलीसँग फाइनल प्रवेशका लागि प्रतिष्पर्धा गर्दा दोस्रो सेमिफाइनल खेल दोस्रो र तेस्रो स्थानको टोलीबीच हुनेछ । नेपाल कम्तीमा पनि तेस्रो भएको अवस्थामा मेडल हात पार्नेछ । सेमिफाइनल १० पुसमा हुनेछ भने फाइनल ११ पुसमा हुनेछ ।













