मकवानपुरको विकासका लागि गठबन्धनलाई भोटः डिना
२० कार्तिक, हेटौँडा । लोकतान्त्रिक–वाम गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नेपाली कांग्रेस केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना ले मुलुकको भाग्य र भविष्यलाई सोचेर गठबन्धनलाई मतदान गर्न अनुरोध गर्नुभएको छ ।
चुनावी अभियान अन्तर्गत आइतबार बकैया ११ मा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पटक पटक मन्त्री भएर पनि मकवानपुरको विकासमा कुनै योगदान नपु¥याएका, आन्दोलनमा दमन गरेका र चुनाव आएपछि अर्को पार्टीबाट टिकट लिएर आश्वासन मात्रै बाँड्न आउनेहरुलाई चिन्न जरुरी रहेको बताउनुभयो । नेकपा एमालेको झुटा आश्वासन र फोस्रो नारामा नअल्मलिन उहाँले मतदाताहरुलाई आग्रह गर्नुभयो । डिनाले आफ्नो कार्यकालमा मकवानपुर क्षेत्र नम्बर १ लाई पूर्ण बिजुलीयुक्त बनाउने, हात्तीसुँढे–शिखरपुर–मन्थली सडक कालोपत्रे गर्ने र शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीलाई विशेष प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।
यसैगरी गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ को प्रदेशसभा क का उम्मेदवार प्रेमबहादुर पुलामीले अर्काको पार्टीको चुनाव चिन्ह किनेर आएका व्यवस्था विरोधीहरुलाई परास्त गर्ने बेला आएको बताउनुभयो । यस क्षेत्रको विकास र समृद्धिका लागि गठबन्धनका उम्मेदवारले जित्नुपर्ने उहाँको भनाई थियो ।
कार्यक्रममा माओवादी केन्द्रका केन्द्रित सदस्य विजय गौतम, नेकपा (एस)का केन्द्रीय सदस्य घनप्रसाद गौतम लगायतले मन्तव्य व्यक्त गरेका थिए । बकैया ११ मा प्रचारप्रसार संयोजक तुलबहादुर थोेकर र बकैया १२ मा सञ्जय लामा डिमडुङको अध्यक्षतामा कार्यक्रम भएको हो ।













