पश्चिमी वायुको प्रभावका कारण देशभर चिसो बढ्यो
११ कार्तिक, काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभावका कारण देशभर चिसो महशुस भएको बताएको छ ।
मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले गत हप्तादेखि देशभर तापक्रम घट्दै गइरहेको बताउनुभएको हो । तापक्रम घटेका कारण चिसो महशुस भएको उहाँले बताउनु भयो । उहाँले अहिले पश्चिमबाट हावा चलेको र कहिलेकाही उत्तरपश्चिम भेग हिमालतिरबाट पनि हावा आउनेहुँदा चिसो हुने गरेको उल्लेख गर्नुभयो । वरिष्ठ मौसमविद् पौडेलले तापक्रम निरन्तर नघट्ने स्पष्ट पार्नुभयो । अक्टोबर र नोभेम्बर महिनामा यत्तिकै अवस्थामा अथवा एक, दुई डिग्रीको तलमाथि मात्रै रहने बताउनुभयो । उहाँले डिसेम्बर महिनाको शुरुवात भएपछि भने तापक्रम घट्दै जाने र जाडो बढ्दै जाने उल्लेख गर्नुभयो ।
मौसमविद् पौडेलले मनसुन सकिएर पोस्ट मनसुनको अवस्था भएकाले बिस्तारै जाडो हुँदै जानु स्वभाविक भएको बताउनुभयो । उहाँले आगामी एकहप्ता भने वर्षा हुने सम्भावना नरहेको स्पष्ट पार्नुभयो । जाडो बढ्ने र घट्ने कुरा भने हावाको वहाव कताबाट आएको छ त्यसले निर्धारण गर्ने उहाँको भनाई छ ।
वरिष्ठ मौसमविद् पौडेलले शीत लहरको अवस्था पनि आउन सक्ने भएकाले त्यसबाट बच्ने पूर्वतयारी गर्न सुझाव दिनुभयो ।













