मुख्य प्रशिक्षक अब्दुल्लाहा अल्मुताइरीद्वारा राजीनामाको घोषणा

स्वर्णिम खबर
२६ भाद्र २०७९, आईतवार १८:०४

२६ भाद्र, काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाहा अल्मुताइरीले राजीनामाको घोषणा गर्नुभएको छ ।
अल्मुताइरीले आईतवार सामाजिक सञ्जाल फेसबुकबाट नेपाली राष्ट्रिय फुटबल टिमसँगको यात्रा टुंगिएको घोषणा गर्नुभएको हो । अखिल नेपाल फुटबल संघका प्रवक्ता सुरेश शाहले महासचिवलाई राजीनामा पठाएको जानकारी दिनुभयो । उहाँले राजीनामामा एन्फासँग भएको सम्झौता भंग गरेको उल्लेख गरेको शाहले जानकारी दिनुभयो । मुख्य प्रशिक्षक अल्मुताइरीले आफ्नो सामाजिक सञ्जालमा नेपाली टिमसँगको आफ्नो ५२५ दिनको यात्रा टुंगिएको बताउनु भयो । एन्फाले वि.सं २०७७ साल चैत २२ गते कतार एफएको सहयोगमा कुवेतका प्रो लाइसेन्स प्राप्त प्रशिक्षक अल्मुताइरीलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो ।
अल्मुताइरीको नेतृत्वमा नेपालले पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल खेलेको थियो भने गत असोजमा माल्दिभ्समा भएको साफको फाइनलमा नेपाल भारतसँग पराजित हुँदा उपाधिबाट वञ्चित बनेको थियो । अल्मुताइरीको नेतृत्वमा नेपालले एएफसी एशियन कप छनोटको दोस्रो चरण खेलेको थियो । अलमुताईरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै गत वैशाख १३ गते प्रशिक्षणमा रहेका १० खेलाडीले बन्द प्रशिक्षण छाडेपछि अल्मुताइरी विवादमा तानिनुभएको थियो । अल्मुताइरीको प्रशिक्षणमा नेपालले १९ अन्तर्राष्ट्रिय खेल खेलेको छ । जसमध्ये पाँच खेलमा जित निकालेको नेपालले दुई खेलमा बराबर र १२ खेलमा हार व्यहोरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*