थाहा नगरमा पहिलो पटक बिच भलिबल प्रतियोगिता हुने
२४ भाद्र, हेटौँडा । मकवानपुर जिल्लाको थाहा नगरपालिकामा पहिलो पटक बिच भलिबल प्रतियोगिता हुने भएको छ ।
थाहा कला केन्द्रको आयोजना तथा थाहानगर भलिबल संघको समन्वयमा प्रतियोगिता हुन लागेको हो । शुक्रबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै थाहा कला केन्द्रले असोज १४ गतेदेखि १७ गतेसम्म थाहा नगरपालिका वडा नम्वर ३ मा रहेको जनकल्याण माध्यमिक विद्यालयको प्राङ्गणमा प्रतियोगिता आयोजना गर्न जानकारी दिएको हो । पत्रकार सम्मेलनमा केन्द्रका अध्यक्ष सानोबाबु मुक्तानले प्रतियोगितामा ५० टिमको सहभागी रहने जानकारी दिनुभयो । थाहा नगरपालिकाको पर्यटन प्रवर्धन हुने उद्देश्यले भलिबल प्रतियोगिता आयोजना गर्न लागेको अध्यक्ष मुक्तानले बताउनुभयो ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः नगद ५० हजार, २५ हजार र १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ । पत्रकार सम्मेलनमा मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेष खड्गी, जिल्ला भलिबल संघ मकवानपुरका अध्यक्ष बसन्त सिटौला, कोषाध्यक्ष शंकर कार्की, थाहा नगरपालिका भलिबल संघका अध्यक्ष बसन्त गोपाली, भलिबल संघ हेटौंडा उपमहानगरपालिका अध्यक्ष राजु घले लगायतको आतिथ्यता रहेको थियो ।













