हेटौंडामा तीजको रौनकः मन्दिरमा भक्तजनहरुको घुइँचो
१४ भाद्र, हेटौँडा । नेपाली नारीहरुको महानपर्व हरितालिका तीजको अवसरमा मकवानपुरका शिब मन्दीरहरुमा भक्तजनहरुको बिहानै देखि भिड लागेको छ ।
बिशेषगरी हेटौंडाको हुप्राचौरमा रहेको पशुपती मन्दिरमा बिहानैबाट भक्तजनहरुको भीड लगोको हो । मकवानपुरको दश वटै स्थानीय तहका शिब मन्दिरहरुमा पनि भक्तजनहरुको बिहानैबाट भीड लागेको छ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिवको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याण प्राप्त हुने धार्मिक विश्वास छ । सोमबार दर खाएपछि औपचारिक रुपमा सुरु भएको तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ ।

तृतीया तिथीका दिन हरितालिका तीजको व्रत, चौथीका दिन गणेशको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ । सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएको धार्मिक विश्वास छ । आज धेरैले निराहार व्रत बस्ने गरेका छन् । तर, चिकित्सकहरुले भने आफ्नो स्वास्थ्यको ख्याल गरेर मात्रै व्रत बस्न सुझाव दिएका छन् । पोषणविद् डाक्टर कल्पना तिवारीका अनुसार शरीरले थेग्ने भएमात्रै निराहार व्रत बस्नुपर्छ । नभए व्रत बस्दा प्रशस्त पानी, फलफूल र फलफूलका जुस खान चिकित्सकको सुझाव छ ।

निराहार व्रत बस्दा शरीरमा पानीको कमी भइ बेहोस समेत हुन सक्ने भएकाले आफ्नो स्वास्थ्यको ख्याल गर्न डाक्टर तिवारीको सुझाव छ । सक्नेले निराहार, नसक्नेले जलाहार र त्यो पनि नसक्नेले फलाहार व्रत गर्न सकिन्छ । स्वास्थ्य ठीक नहुनेले गहुँको रोटी, मकैको रोटी, स्याउ, सुन्तला, केरा जस्ता फलाहार गरेर पनि व्रत बस्न सकिन्छ । तीजका अवसरमा आज महिलालाई सरकारले सार्वजनिक बिदा दिएको छ ।













