जनताको मन जित्नेगरी स्वतन्त्र पार्टीले काम गर्छः सभापति न्यौपाने
१ भाद्र, हेटौँडा । राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरका सभापति राजकुमार न्यौपानेले जनताको मन जित्नेगरी स्वतन्त्र पार्टीले काम गर्ने बताउनुभएको छ ।
बुधबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै सभापति न्यौपानेले आउँदो चुनावमा आम मतदाताहरुको मन जित्नेगरी उम्मेदवार चयन गरिने बताउनुभयो । उहाँले स्वतन्त्र पार्टीका वडा तहदेखि जिल्लासम्म नयाँ कार्यसमिति चयन गर्ने प्रक्रियामा आफूहरु रहेको जानकारी दिनुभयो । पार्टी भर्खरै स्थापना भएकोले संघीय निर्वाचनमा कसरी अगाडि बढ्ने भन्ने विषय छलफल मै रहेको उहाँले उल्लेख गर्नुभयो ।
यस्तै पत्रकार सम्मेलनमा सभापति न्यौपानेले यसअघि आफूले कुनै पनि पार्टीको सदस्यता नलिएको दावी गर्नुभयो । एमाले अध्यक्ष केपी ओलीबाट पार्टीको सदस्यता लिएको विषयमा सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी उठेपछि सभापति न्यौपानेले यसमा कुनै सत्यता नरहेको स्पष्ट पार्नुभयो । एउटा व्यवसायीको हैसियतले बालुवाटारमा ओलीसंग भेटवार्ता भएको उहाँले बताउनुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टी हेटौंडा उपमहानगरपालिका संयोजक सन्तोष न्यौपानेले भ्रष्टाचारविरुद्ध आफ्नो अभियान जारी रहने बताउनुभयो ।













