नवौं राष्ट्रिय खेलकुद निर्धारित मितिमै हुनेछः सदस्य सचिव घिसिङ

स्वर्णिम खबर
२३ श्रावण २०७९, सोमबार १८:३४

२३ श्रावण, काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता समयमै हुनेमा कुनै दुविधा नरहेको बताउनु भएको छ ।
सदस्य सचिव घिसिङले मन्त्रिपरिषद्ले मिति तय गरे बमोजिम राखेप तयारीमा जुटिसकेको उल्लेख गर्दै गण्डकी प्रदेशवासीलाई समेत आफ्नो अपनत्व ग्रहण गर्ने गरी तयारीमा लाग्न आग्रहसमेत गर्र्नु भयो । नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीले सोमबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले १३ औं साग सम्पन्न गरिसकेको पोखरामा धेरै भौतिक पूर्वाधार रहेको उल्लेख गर्दै विभन्न खेलस्थलको लागि आवश्यक मस्यौदासमेत प्राप्त भइसकेको र छिट्टै टुंगोमा पुगिने विश्वास समेत व्यक्त गर्नु भयो । उहाँले असोज २८ देखि कात्तिक ३ सम्म राष्ट्रिय चाडको रुपमा रहेको प्रतियोगितामा ३६ खेलका ४ सय ७ इभेन्टमा खेल हुने जानकारी समेत दिनु भयो । विभिन्न ११ टिममध्ये कम्तीमा ४ टिमले भाग लिएमात्र सो खेल प्रतियोगिताको रुपमा गणना हुने पनि सदस्यसचिव घिसिङले स्पष्ट पार्नु भयो ।
सो अवसरमा उहाँले आगामी भदौ १५ सम्म सबै ११ वटै टिमले आफ्ना खेलाडीको छनोट गरी राखेपमा पठाइसक्नुपर्ने बताउनु भयो । प्रतियोगितामा एकल तर्फ प्रथम हुनेले २५ हजार तथा टिमतर्फ प्रथम हुनेले १५ हजार पुरस्कार प्राप्त गर्ने छन् । साथै राष्ट्रिय रेकर्ड भंग गर्नेले ५० हजार इनाम पाउने छन् । प्रतियोगिताको उद्घाटन र समापन पोखरा रंगशालामै हुनेगरी तयारी भइरहेको सदस्यसचिव घिसिङले जानकारी दिनु भयो । प्रतियोगिताका लागि १० लाख रुपैयाँ बराबरको ट्रफी (सुनचाँदी जडित) बनाउने कार्य जारी रहेको र सो ट्रफी सात वटै प्रदेशमा पु¥याइने र अन्त्यमा जुन टिम च्याम्पियन हुन्छ उसैलाई हस्तान्तरण गरिने तयारी रहेको राखेपले जनाएको छ ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*