अघिल्लो वर्षको तुलनामा यस वर्ष कुलेखानीमा कम पानी भरियो

स्वर्णिम खबर
२३ श्रावण २०७९, सोमबार १७:१७

२३ श्रावण, हेटौँडा । नेपाल विद्युत प्राधिकरणको ब्याकअपको रुपमा रहेको कुलेखानी जलविद्युत आयोजना(इन्द्रशरोबर) को पानीको सतह अघिल्लो वर्षको तुलनामा यस वर्ष कम भरिएको छ ।
गत वर्षको तुलनामा मुहान क्षेत्रमा पानी कम पर्दा कुलेखानी जलाशयमा यस वर्ष पानीको सतह कम भएको हो । जलाशयमा गत वर्ष यसै समयमा १ हजार ५१८ मिटर पानी मापन गरिएकोमा यस वर्ष १ हजार ५०७ दशमलव ५५ मिटर मात्र रहेको कुलेखानी जलविद्युत केन्द्रका प्रमुख धीरेन्द्र चौधरीले जानकारी दिनुभयो । जलाशयमा यस वर्ष गत वर्षको भन्दा पानीको सतह ११ मिटर कम रहेको छ । वर्षा अवधि बाँकी नै रहेकाले असोजसम्म जलाशयमा पानी भरिने सम्भावना रहेको चौधरीले बताउनुभयो । १ हजार ५ सय ३० मिटर उचाइसम्म पानी भण्डारण क्षमता भएको जलाशयमा गत वर्ष असोज महिनामा मै भरिएको थियो । गत वर्ष जलाशयमा पानी बढी भएर ओभर फ्लो समेत भएको थियो । कुलेखानी जलाशयको पानीबाट पहिलो विद्युत गृहबाट ६० मेगावाट, दोस्रोबाट ३२ मेगावाट र तेस्रोबाट १४ मेगावाट विद्युत् उत्पादन हुने गरेको छ । देशका अन्य जलविद्युत् स्टेसनहरूलाई समर्थन गर्नका लागि मात्र कुलेखानी जलविद्युत् आयोजना प्रयोग गरिने केन्द्रका प्रमुख चौधरीले बताउनुभयो । अन्य विद्युत गृहको मेसिन बन्द भएर सञ्चालनमा आउन समस्या हुने भएकाले आवश्यक परेको खण्डमा मात्र कुलेखानी प्रयोगमा ल्याउने गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*