कोभिड महामारीलाई पूर्णरुपमा नियन्त्रण गर्नुपर्छः प्रधानमन्त्री देउवा
१२ श्रावण, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड महामारी पूर्णरुपमा नियन्त्रण गर्नुपर्ने आवश्यक्ता औंल्याउनु भएको छ ।
केही समयता मत्थर हुँदै गएको कोभिड महामारी पुनः विस्तार हुँदै जाने खतरा देखिएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले त्यसलाई पूर्ण रुपमा नियन्त्रण गर्नुपर्ने खाँचो रहेको बताउनु भएको हो । वीर अस्पतालको १ सय ३३ औं वार्षिकोत्सवको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले भविष्यमा आउन सक्ने विभिन्न महामारीहरुको नियन्त्रणका लागि पनि सरकारले आफ्नो सामथ्र्यको विकास गर्नुपर्ने बताउनु भयो । क्यान्सरजस्ता घातक रोगहरुको समयमै सहज ढंगले उपचार हुने व्यवस्था मिलाउन पनि सम्बन्धित स्वास्थ्य संस्थाहरुले ध्यान दिने प्रधानमन्त्री देउवाले विश्वास व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री देउवाले सर्वसाधारण नागरिकलाई स्वास्थ्य सेवा सर्वसुलभ ढंगले उपलब्ध गराउन सरकार कटिवद्ध रहेको पनि बताउनु भयो । स्वास्थ्य सेवालाई नागरिकको मौलिक हकको रुपमा संविधानमै व्यवस्था गरेको स्पष्ट पार्दै उहाँले सरकारले त्यसका लागि आवश्यक बजेटको व्यवस्था समेत गरेको बताउनु भयो ।
वीर अस्पतालका कार्यबहाक प्रमुख प्रशासकीय अधिकृत डा. भुपेन्द्रकुमार बस्नेतले विरामीहरुको चापलाई धान्न सक्ने गरी अस्पतालमा आवश्यक जनशक्तिको व्यवस्थापन गरिदिन सरकारसँग माग गर्नुभयो ।