एसईईको नतिजा सार्वजनिक

स्वर्णिम खबर
११ श्रावण २०७९, बुधबार १८:४४

११ श्रावण, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ ।
परीक्षा बोर्डको बुधवार बसेको बैठकले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको हो । बोर्ड परिसरमा आयोजित पत्रकार सम्मेलनमा परीक्षा नियन्त्रक दुर्गाप्रसाद अर्यालले परीक्षामा सहभागी भएका पाँच लाख १४ हजार ९७७ मध्ये नौ हजार ६३३ जनाले ३.६ देखि ४ जीपीए ल्याएको जानकारी दिनुभयो । २ हजार ७ परीक्षा केन्द्रबाट ११ हजार ६१५ विद्यालयका दुई लाख ५७ हजार ९२४ छात्रा र दुई लाख ५७ हजार ५३ छात्र गरी पाँच लाख १४ हजार ९७७ जना बोर्डले लिएको एसईई परीक्षामा सहभागी भएका थिए । परीक्षामा सहभागी भएका मध्ये ४१ हजार ६२७ जनाले ३.२० देखि ३.६०, ६९ हजार ९०० जनाले २.८० देखि ३.२० जीपीए र ९० हजार ७५८ जनाले २.४ देखि २.८० जीपीए ल्याएको परीक्षा नियन्त्रक अर्यालले जानकारी बताउनु भयो । सबैभन्दा धेरै एक लाख १२ हजार ७३३ जनाले २ देखि २.४ जीपीए ल्याएका छन् भने एक लाख ५९४ जनाले १.६ देखि २ जीपीए ल्याएका छन् । १.२ देखि १.६ जीपीए ल्याउनेको संख्या ४४ हजार ५८६ र ०.८० जीपीएदेखि १.२ जीपीए ल्याउनेको संख्या तीन हजार २८० रहेको बोर्डले बताएको छ । कोरोना संक्रमणको जोखिमको कारण अघिल्ला दुई वर्ष राम्रोसँग एसईई परीक्षा सञ्चालन गर्न नसकेको बोर्डले गत वैशाख ९ देखि २० गतेसम्म विद्यार्थीको भौतिक उपस्थितिमा नै परीक्षा सञ्चालन गरेको थियो । कोभिड महामारीका कारण विगत दुई वर्ष अर्थात शैक्षिक सत्र २०७६ र २०७७ मा आन्तरिक मूल्याङ्कनका आधारमा विद्यालयले पठाएको अंकलाई बोर्डले प्रमाणित गरेर नतिजाको रुपमा प्रकाशित गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*