कोरोना संक्रमण बढ्यो, स्वास्थ्य मापदण्ड अपनाऔँः मन्त्री लामा

स्वर्णिम खबर
९ श्रावण २०७९, सोमबार १८:०५

९ श्रावण, हेटौँडा । बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले पछिल्लो समय कोभिड–१९ को संक्रमण संगै अन्य संक्रामक रोगहरुको जोखिम पनि बढेको बताउनुभएको छ ।
बागमती प्रदेश सभाको सोमबारको बैठकमा सार्वजनिक महत्वको विषयमा बोल्दै मन्त्री लामाले पछिल्लो केहि दिन यता कोरोना संक्रमण बढेको र सचेत हुनुपर्ने बताउनुभयो । उहाँले पछिल्लो समय कोभिड–१९ को नयाँ भेरिएन्ट ओमिक्रोनको उपप्रजाती विश्वभर फैलदै गरेको बताउँदै नेपालमा पनि संक्रमण दर बढीरहेको जानकारी दिनुभयो । मन्त्री लामाले संक्रमण दर नियन्त्रण गर्नको लागि संघीय सरकारसंगको समन्वयमा कोभिड विरुद्धको खोप अभियान तिब्र रुपमा संचालन गरिरहेको बताउनुभयो । उहाँले कोरोनाको संक्रमण नियन्त्रण गर्न जनस्वास्थ्यका मापदण्डहरु पालना गर्न र कोभिड विरुद्धको खोप लगाउन अनुरोध गर्नुभयो ।
यसैगरी मन्त्री लामाले विश्व स्वास्थ्य संगठनले मन्कीपक्स रोगलाई अन्तर्राष्ट्रिय जनस्वास्थ्य आपतकाल घोषणा गरेको बताउँदै नेपालमा पनि उक्त रोग आउन सक्ने भन्दै तयारी अवस्थामा रहन आवश्यक रहेको बताए । उहाँले संक्रामक सरुवा रोगहरुको समयमै पूर्वतयारीका साथ रोकथाम तथा नियन्त्रणका उपायहरु अपनाउन पर्ने बताउनुभयो ।
मन्त्री लामाले मौसमजन्य एवम् उदयीमान रोगहरुको समयमै रोकथाम, नियन्त्रण तथा व्यवस्थापनको लागि संघीय सरकार तथा स्थानीय सरकारसंगको समन्वयमा प्रदेश सरकार पूर्ण रुपमा तयारी अवस्थामा रहेको दाबी समेत गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*