किसानको कुरालाई सञ्चारमाध्यममा प्रचारप्रसार गर्न मन्त्री हुमागाईको आग्रह
२१ असार, हेटौँडा । बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री बसुन्धरा हुमागाईले किसानहरुको कुरालाई सञ्चार माध्यममा प्रचारप्रसार गर्न आग्रह गर्नुभएको छ ।
मंगलबार हेटौंडामा कृषि पत्रकारिता सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै मन्त्री हुमागाईले उत्पादनसँग जोडिएर किसानहरुले गरेको कामलाई प्रचार तथा प्रसार गर्न सञ्चारकर्मीलाई आग्रह गर्नुभयो । प्रदेशको समग्र कृषि क्षेत्रलाई विकास गर्न मन्त्रालयले तयार पारेको किसान लक्षित मार्ग चित्र भित्रका योजनालाई कार्यान्वयन तर्फ लागि रहेको मन्त्री हुमागाईले दाबी गर्नुभयो । अनुदानलाई व्यवस्थित गर्दै सामूहिक खेतीलाई प्राथमिकता राखी काम गरिने उहाँले बताउनुभयो ।
पत्रकार महासंघ मकवानपुर शाखाका अध्यक्ष मणिराज गौतमको अध्यक्षता तथा मन्त्री हुमागाईको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा महासंघका पुर्व अध्यक्ष राममणि दाहाल, भानुभक्त आचार्य, मन्त्रालयका सुचना अधिकारी अनुप अधिकारी लगायत जिल्लाका पत्रकारहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा मन्त्रालयका प्रवक्ता एंव कृषि प्रसार अधिकृत झलकनाथ कंडेलले मन्त्रालयले आर्थिक वर्ष २०७९÷०८० को कार्ययोजनाहरु प्रस्तुत गर्नुभएको थियो ।














