बागमती प्रदेशः बजेट बहुमतले पारित, मुख्यमन्त्री फेर्न कसरत सुरु
१६ असार, हेटौँडा । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९÷८० को बजेट बहुमतले पारित भएको छ ।
बिहीबार बसेको प्रदेशसभा बैठकले असार १ गते सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित गरेको हो । आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले पेस गरेको अर्थ सम्बन्धीको प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक सर्वसम्मत र विनियोजन विधेयक २०७९ पनि बहुमतले पारित भएको थियो । प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँको बजेट ल्याएको छ । बजेटको पक्षमा सत्तारुढ गठबन्धनका सांसदहरु उभिएका थिए ।
यसैबीच प्रदेश सभाबाट बजेट पास भएसँगै प्रदेशमा मुख्यमन्त्री परिवर्तनको कसरत सुरु भएको छ । मुख्यमन्त्री राजेन्द्र पाण्डेले केन्द्रको निर्देशन बिना सहजै मुख्यमन्त्रीको पद नछोड्ने बताएपछि नेपाली कांग्रेस र माओवादी केन्द्रले सांसदहरुको हस्ताक्षर संकलन सुरु गरेको छ ।
गठबन्धन हाल प्रदेशसभामा रहेका १०७ प्रदेशसभा सदस्यमध्ये गठबन्धनसँग ५९ सदस्य छन् । गठबन्धनको नेकपा माओवादी केन्द्रको २३, नेपाली कांग्रेसको २२, नेकपा एकिकृत समाजवादीको १३ र जसपाको १ जना सांसद छन् । प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको ४१, विवेकशील साझाको ३,राप्रपा र नेमकिपाको २÷२ जना छन् ।














