सेमिफाइनल प्रवेश गरिसकेको नेपाल अन्तिम खेलमा हङकङसंग पराजित

स्वर्णिम खबर
७ असार २०७९, मंगलवार १७:४६

७ असार, काठमाडौँ । एसिसी महिला ट्वान्टी २० च्याम्पियनसिप अन्तर्गत मंगलवार भएको खेलमा नेपाल हङकङसँग सात विकेटले पराजित भएको छ ।
मलेसियाको किनरारा ओभलमा मंगलवार भएको समूह चरणको अन्तिम खेलमा नेपालले दिएको १ सय १० रनको लक्ष्य हङकङले १५.५ ओभरमा तीन विकेट गुमाएर पूरा गरेको हो । यससँगै नेपालले समूह चरणको अन्तिम खेलमा पराजय भोगेको छ । अघिल्ला तीन खेलमा स्पष्ट जित निकालेको नेपाल बलियो हङकङसँग पराजित भएपनि सेमिफाइनलमा प्रवेश गरेको छ ।
एक खेल खेल्न बाँकी रहेको हङकङले ३ खेलमा ६ अंक जोडेको छ । र, समूहको शीर्ष स्थानमा रहेको छ । नेपाल ४ खेलमा ६ अंक जोडेर समूहको दोस्रो स्थानमा रहेको छ । अब नेपालले सेमिफाइनमा समूह ए को विजेतासँग फाइनल प्रवेशका लागि खेल्नेछ ।
नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा नेपालले प्रस्तुत गरेको लक्ष्यका साथ जवाफी ब्याटिङ गरेको हङकङको लागि मारिको हिलले ४५, नतासा माइल्सले २८ र कप्तान केरी चानले १७ रनको योगदान गरे । नेपालकी संगिता राईले दुई तथा सीता राना मगरले एक विकेट लिए ।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउनुअघि १ सय ९ रनको योगफल बनाएको थियो । नेपालका लागि कप्तान रुबिना क्षेत्रीले सर्वाधिक ३२ रनको योगदान गरिन् । उनले ३६ बलमा चार चौका प्रहार गरिन् । यस्तै, बिन्दु रावलले २३, अप्सरी बेगमले २२, सीता राना मगरले ९ र ममता चौधरीले सात रन जोडिन् । हङकङकी बेट्टी चानले दुई तथा मर्याम बिबी र इल्सा हब्बार्डले समान एक विकेट निकाले । च्याम्पियनसिपको फाइनल टोलीले एशियाकपमा स्थान बनाउने छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*