बागमती प्रदेश सरकारद्वारा ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँ को बजेट प्रस्तुत
१ असार, हेटौँडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९– ०८० का लागि कुल ७० अर्व ९३ करोड ९२ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।

आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले आगामी आर्थिक वर्षका लागि कुल ७० अर्व ९३ करोड रुपैयाँ अनुमानित बजेट सार्वजनिक गरेका हुन् । गतवर्षको तुलनामा प्रदेश सरकारले १३ अर्ब बढाएर बजेट ल्याएको हो । चालुतर्फ १९ अर्व २ करोड ४१ लाख रुपैयाँ, पुँजिगत तर्फ ४१ अर्व ५६ करोड, २४ लाख रुपैयाँ, बजेट बिनीयोजन भएको छ । वित्तिय हस्तान्तरण तर्फ ८ अर्व ३५ करोड २७ लाख रुपैयाँ र वित्तिय व्यवस्थापन तर्फ २ अर्व रुपैयाँ बजेट विनियोजन भएको छ । प्रदेश सरकारले खर्च बेहोर्ने स्रोततर्फ कर तथा राजस्वबाट २७ अर्ब ९७ करोड ११ लाख, अन्य राजस्वबाट ६ अर्ब २२ करोड ४४ लाख, संघीय वित्तीय हस्तान्तरणबाट २१ अर्ब ६ करोड ८७ लाख, प्रदेश सञ्चिती कोषबाट १६ अर्ब ६७ करोड ५० लाख रुपैयाँ अनुमान गरेको मन्त्री जम्कट्टेलले बताउनुभयो ।

प्रदेशको राजधानी हेटौंडामा स्थायी भौतिक संरचना निर्माण र पूर्वाधार निर्माण गर्नका लागि प्रदेश सरकारले बजेट ब्यवस्था गरेको छ । नयाँ कार्यक्रमका रुपमा बजेटमा समाबेश गरिएको वडा समाजवादी कार्यक्रमका लागि २५ करोड रुपैयाँ विनीयोजन गरिएको छ । प्रदेशका एकसय १९ वटा स्थानीय तहका लागि १ अर्ब ७५ करोड रुपैयाँ समानीकरण अनुदान विनियोजन भएको छ । साथै प्रदेश सरकारले आगामी आर्थिक वर्षमा प्राङ्गरिक मल र गड्यौला मलको प्रयोग प्रोत्साहन गर्न ५ करोड ७५ लाख रुपैयाँ बजेट छुट्याएको छ ।

यस्तै प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको सुदृढिकरणका लागि १९ करोड २ लाख ५६ हजार रुपैंया बजेट विनियोजन गरेको छ । प्रतिष्ठानको अन्तरगतको अस्पताल स्थापनाको लागि आवश्यक प्रक्रिया अघि बढाई शैक्षिक कार्यक्रम र भौतिक पूर्वाधार समेत विस्तार गरिने उल्लेख छ । प्रदेश सरकारले हेटौंडा अस्पतालाई २ सय शैयाको अस्पताल बनाउने जनाएको छ । सहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रको सहकार्यमा हेटौंडा अस्पतालमा मानव अंग प्रत्यारोपण सेवा संचालन गरिने बजेटमा उल्लेख छ । यसका लागि ८ करोड रुपैंया विनियोजन गरिएको छ ।














