आर्मीविरुद्ध खेल्नु केही असहजः बिजय युथ, घरेलु टोलीविरुद्ध खेल्नु चुनौतीपूर्णः आर्मी
२९ जेठ, हेटौँडा । हेटौंडामा जारी चौथो संस्करणको स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकप प्रतियोगिताको फाइनल खेल सोमबार हुँदैछ ।
हेटौंडा ५ क्याम्पा रंगशालामा हुने फाइनल खेलमा घरेलु टोली बिजय युथ क्लब र विभागीय टोली त्रिभुवन आर्मी क्लब भिड्दैछन् । बिजय युथले सेमिफाइनल खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० ले हराउँदै फाइनलमा प्रवेश गरेको हो भने आर्मीले सडन डेथमा विदेशी क्लब एफसी क्यामरुनलाई हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो । दुई टोली बीचको खेल दिउँसो साँढे ३ बजे हुनेछ । यसैबीच आइतबार आयोजित प्रि म्याच कन्फ्रेन्समा दुबै टोलीले उपाधि जित्ने दाबी गरेका छन् । डिफेन्डिङ च्याम्पियन समेत रहेका आर्मीका कप्तान भरत खवासले घरेलु टोलीविरुद्ध फाइनल खेल खेल्नु खुशीको कुरा भएको तर चुनौतीपूर्ण पनि रहेको बताउनुभयो । अघिल्ला खेलहरुको कमजोरीलाई फाइनलमा दोहोरिन नदिने उहाँले बताउनुभयो । बिजय युथलाई घरेलु दर्शकका साथ रहेपनि आफुहरु पुनःगोल्डकपको उपाधि जित्ने गरी तयारी गरेको कप्तान खवासले प्रतिक्रिया दिनुभयो । यस्तै बिजय युथका कप्तान अशोक बरालले आर्मी विरुद्धको खेल आफुहरुको लागि चुनौती रहेपनि उत्कृष्ट खेल प्रस्तुत गर्ने बताउनुभयो । भरत खवास, विकेश कुथु जस्ता अनुभवी खेलाडीहरुले भरिएको आर्मीसँग खेल्न भने केही असहज हुने कप्तान बरालले उल्लेख गर्नुभयो । राम्रै मिहेनत गरेर फाइनल पुगेको र फाइनलसम्म पुग्नु पनि ठुलो कुरा रहने कप्तान बरालको भनाई छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद १५ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै विधागत उत्कृष्ट खेलाडीले नगद २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् भने सर्बोकृष्ट खेलाडीले रोयल इनफिल्ड बाइक प्राप्त गर्नेछन् ।













