मकवानपुर गोल्डकपः डिफेन्डिङ च्याम्पियन आर्मी फाइनलमा, उपाधिको लागि बिजय युथसंग खेल्ने

स्वर्णिम खबर
२८ जेष्ठ २०७९, शनिबार १९:४१

२८ जेठ, हेटौँडा । डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लब हेटौंडामा जारी चौथो स्थानीय तह सहीद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा शनिबार भएको दोश्रो सेमिफाइनल खेलमा विदेशी क्लब एफसी क्यामरुनलाई सडन डेथमा ११–१० ले पराजित गर्दै आर्मी फाइनलमा प्रवेश गरेको हो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरमा लिइएको हो । टाइब्रेकरमा ३–३ गोलको बराबरीपछि खेल सडनडेथमा लम्विएको थियो । सडन डेथसम्ममा ११–११ जनाले पेनाल्टी प्रहार गर्दा ८–८ गोलको बराबरी भएको थियो । त्यसपछि आर्मीले तीनै पेनाल्टीमा गोल गर्दा क्यामरुनको अन्तिम पेनाल्टी सदुपयोग हुन नसक्दा आर्मी विजेता बन्दै फाइनलमा पुग्न सफल भयो । त्यसअघि प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको खेलको ४९औं मिनेटमा दिनेश हेन्जनले गोल गर्दै आर्मीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, आर्मी अन्तिम समयमा सम्हालिन नसक्दा गोल खान पुगेको थियो । जिकाले इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा गोल गर्दै क्यामरुनकाे सम्भावना जीवितै राखेका थिए । अब आर्मीले उपाधिको लागि सोमबार घरेलु टोली बिजय युथसंग खेल्नेछ । शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा बिजय युथले विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० ले हराउँदै फाइनलमा प्रवेश गरेको थियो । प्रतियोगिताको विजेताले १५ लाख र उपविजेता टोलिले १० लाख प्राप्त गर्ने छन् । त्यस्तै विधागत उत्कृष्ट हुने प्रशिक्षक सहित ६ खेलाडीले ट्रफिसहित नगद २५–२५ हजार प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले बुलेट मोटरसाइलक प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल जेठ ३० गते हुनेछ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*