बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित
१९ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम बहुमतले स्विकृत भएको छ ।
बिहिबारको प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रमलाई निणार्यथ प्रस्तुत गर्दा बहुमतले स्विकृत भएको हो । नेकपा एमाले सहितका प्रतिपक्षी दलले नीति तथा कार्यक्रमको विपक्षमा ध्वनी मत दिएपछि सरकारले ल्याएको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । यसअघि मुख्यमन्त्री राजेन्द्र पाण्डेले सांसद्हरुले छलफलको क्रममा उठाएको प्रश्नहरुको जवाफ दिनुहुँदै नीति तथा कार्यक्रमको बचाउ गर्नुभएको थियो । मुख्यमन्त्री पाण्डेले मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिलाई पुरा समय काम गर्न नसक्ने भए विदा लिन पनि सुझाव दिएको संसद्मा जानकारी गराउनुभयो । प्रतिष्ठानमा ५० लाख रुपैंया भन्दा बढिको बेरुजु रहेको र ५५ वटा योजना ५÷५ लाख रुपैंयाको बनाएर गैरकानूनी काम गरेको उहाँले बताउनुभयो । मुख्यमन्त्री पाण्डेले कागजमा ३ सय बेडको लेखेपनि हेटौंडा अस्पतालको काम किन अगाडि बढ्न नसकेको भन्दै पूर्व मुख्यमन्त्री डोरमणि पौडेललाई प्रश्न गर्नुभयो ।
मुख्यमन्त्री पाण्डेले समाजवादी कार्यक्रम वडा तहबाटै शुरु गर्ने पुनः दोहो¥याउँदै यो कार्यक्रम आगामी दिनमा यो सबैले सम्झन लायक कार्यक्रम हुने दाबी गर्नुभयो । उहाँले विगतमा सिमान्तकृत समुदायको पक्षमा नीति तथा कार्यक्रम ल्याउन तत्कालिन सरकारले नसकेको भन्दै अहिलेको सरकारले सिमान्तकृत वर्गलाई लक्षित गरी नीति तथा कार्यक्रम ल्याएको बताउनुभयो । उहाँले कर्मचारी अभावका कारण काम अघि बढाउन समस्या भएकाले बजेट खर्च गर्न नसकेको स्वीकार गर्नुभयो ।
नीति तथा कार्यक्रममा ९ जना सांसदहरुले राखेको संशोधन प्रस्ताव बहुमतले अस्विकृत भएको थियो । प्रदेशसभाको अर्को बैठक जेठ ३१ गते मंगलबार दिउँसो २ बजे बस्ने गरी स्थगित भएको छ ।














