कोरोनाबिरुद्धको खोप अभियानमा सफल भयौँः डा.समीरकुमार अधिकारी

स्वर्णिम खबर
४ बैशाख २०७९, आईतवार १५:१९

४ वैशाख, काठमाडौँ । सरकारले आफ्नो लक्ष्यअनुसार कोरोनाबिरुद्धको खोप अभियानमा सफलता हात पारेको दाबी गरेको छ ।
२०७८ चैत मसान्तसम्म १८ वर्ष माथिको सबै जनसंख्यालाई पूर्ण मात्रा खोप लगाउने लक्ष्य लगभग पूर्ण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्र्रवक्ता डा. समीरकुमार अधिकारीले बताउनु भयो । उहाँले गत वर्षको माघ १४ बाट कोरोनाबिरुद्धको खोप अभियान शुरु गरेपछि चैत्र मसान्तसम्म १८ वर्षमाथिको उमेर समूहकालाई लक्षित वर्गमा राखेर अभियान शुरु गरिएको र अभियानमा सरकारले लगभग लक्ष्य पूरा गरेको बताउनु भयो । सहप्रवक्ता अधिकारीले सरकारले यो बीचमा लगभग ९५ प्रतिशत खोपको पहिलो मात्रा लगाइसकेको बताउनु भयो । त्यस्तै ९० प्रतिशतको हाराहारीमा लक्षित वर्गलाई पूर्ण मात्रा खोप लगाएको बताउनु भयो । उहाँले आगामी दिनमा पनि कोरोनारिुद्धको खोप अभियान जारी रहने र खोपको दायरामा नआएका नागरिकलाई खोपको दायरामा ल्याइ खोप अभियानलाई पूर्णता प्रदान गर्नेतर्फ सरकार केन्द्रित रहेको स्पष्ट पार्नुभयो ।
सह प्रवक्ता अधिकारीले विभिन्न सञ्चारमाध्यमहरुमा कोरोनाबिरुद्धको खोप प्रयोग नगरेर खेर फालेको भन्ने समाचारप्रति मन्त्रालयको ध्यानाकर्षण भएको बताउनु भयो । उहाँले हालसम्म सरकारले कोरोनाबिरुद्धका खोपहरु खेर नफालेको दाबीसमेत गर्नुभयो । सहप्रवक्ता अधिकारीले सरकारले दुःख गरेर पाएको खोपलाई महत्वका साथ कसरी प्रयोग गर्न सकिन्छ भन्ने रणनीति बनाएर खोपलाई यथोचित प्रयोग गरिरहेको पनि बताउनु भयो । उहाँले कोरोनाबिरुद्धका केही खोपहरुको मिति सकिन लागेको भन्दै त्यसलाई सकेसम्म प्रयोग गर्ने तरिकाले खोप नपुगेका स्थानमा म्याद सकिन लागेका खोपहरु लगेर खोप अभियान सञ्चालन गरिरहेको बताउनु भयो । सहप्रवक्ता अधिकारीले सरकारले गत चैत्र २५ गतेदेखि वैशाख १८ गतेसम्म टाइफाइडबिरुद्धको खोप अभियान सञ्चालन गरिरहेको र यही अभियानमा कोरोनाबिरुद्धको खोपलाई पनि समावेश गरेर खोपको दायरामा नआएका नागरिकलाई कोरोनाबिरुद्धको खोप लगाउने काम जारी राखेको बताउनु भयो ।
सह प्रवक्ता अधिकारीले नेपालमा रहेका कोरोनाबिरुद्धका केही खोपहरुको समय अप्रिल महिनासम्म रहेको भन्दै ती खोपहरुलाई बाँकी दिनमा सक्ने गरेर रणनीति बनाएको बताउनु भयो । उहाँले कतिपय खोपहरु एकै प्यकमा ६ वा १० वटा आउने भएको र खोलेको ६ घण्टाभित्र सबै प्रयोग गरिसक्नु पर्ने हुन्छ तर खोप लगाउने मानिसहरु नहुँदा १÷२ वटा खोप प्रयोग भएपनि प्याकमा बाँकी खोप खेर जानसक्ने सम्भावना रहेको जानकारी दिनुभयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म लक्षित समूहभित्र रहेका एक करोड ९९ लाख २२ हजार १ सय ६४ वयस्कमध्ये एक करोड ८७ लाख २२ हजार ९०६ जनाले खोपको एक मात्रा लगाएका छन् भने १ करोड ६५ लाख ६३ हजार ३ सय ७० जनाले खोपको पूर्ण मात्रा लगाएका छन् । त्यस्तै लक्षित वर्गभित्र रहेका ३४ लाख २५ हजार ४०८ जना बालबालिका मध्ये ९२ प्रतिशत अर्थात् ३१ लाख ४५ हजार ४ सय ५१ जनाले खोपको एक मात्रा लगाएका छन् भने लक्षित संख्याको ७५ प्रतिशत अर्थात् २५ लाख ८४ हजार ३ सय २६ जनाले खोपको पूर्ण मात्रा लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस बाहे २३ लाख ७४ हजार ११ डोज अतिरिक्त खोप प्रयोगमा आएको र देशभर हालसम्म उपलब्ध ५ करोड ३३ लाख ८१ हजार ५ सय ७० डोज खोपमध्ये ४ करोड ५ लाख ८५ हजार ५ सय ५७ डोख खोप प्रयोग गरिएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*