बागमती प्रदेश सरकारले उच्च शैक्षिक संस्थाहरु निर्माण गर्छः मुख्यमन्त्री पाण्डे
२८ चैत्र, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले विज्ञान, प्रविधिका क्षेत्रमा अध्ययन, अनुसन्धान र अध्यापनका लागि प्रदेशले उच्च शैक्षिक संस्थाहरु निर्माण गर्ने बताउनु भएको छ ।
राजधानीमा जारी स्वास्थ्य वैज्ञानिकहरुको आठौं सम्मेलनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । मुख्यमन्त्री पाण्डेले वागमती प्रदेशले उच्च शिक्षा सम्बन्धी विधेयक पास गरिसकेको र त्यसबाट विज्ञान प्रविधिको क्षेत्रमा लगानी गर्ने तथा विज्ञान प्रविधि अध्यापन गराउने विश्वविद्यालयहरु बनाउने कार्यमा प्रदेश लागि परेको दाबी गर्नुभयो । उहाँले विज्ञान, प्रविधि सम्बन्धमा अनुसन्धानको कार्यलाई अघि बढाउन नगद प्रवद्र्धन कार्यक्रमअन्तर्गत नीति पास गरेको र सोही नीतिको आधारमा छुट्टै ऐन बनाएर वागमती प्रदेश अनुसन्धानका क्षेत्रमा अघि बढ्ने बताउनु भयो ।
मुख्यमन्त्री पाण्डेले प्रदेश अनुसन्धानका क्षेत्रमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्सँग मिलेर कम गर्न तयार रहेको बताउनु भयो । उहाँले आगामी बजेटमा प्रदेशले अनुसन्धानका लागि छुट्टै बजेट निकासा गर्ने र कानूनि बन्दोबस्त गरेर प्रदेश हेल्थ रिसर्च काउन्सिल नै निर्माण गरेर जान पनि तयार रहेको बताउनु भयो । मुख्यमन्त्री पाण्डेले नेपालमा अनुसन्धानका क्षेत्रमा लगानी गर्ने कुरालाई फजुल खर्च भन्ने गरेको पनि बताउनु भयो । उहाँले अनुसन्धानको क्षेत्रलाई अन्य ६ प्रदेशले सिक्ने गरेर वागमती प्रदेश अघि बढ्ने प्रतिवद्धतासमेत जनाउनु भयो ।
कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङले नेपालमा स्वास्थ्य क्षेत्रलाई सहज, सर्वसुलभ र दूरदराजका पहुँच विहीन जनताले पनि प्राप्त गर्ने गरी व्यवस्था गर्ने कुरामा जोड दिनुपर्ने बताउनु भयो ।













