नेपाल त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृखंलाको फाइनलमा
१७ चैत्र, हेटौँडा । नेपाल त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृखंलाको फाइनलमा प्रवेश गरेको छ ।
बिहिबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई ३७ रनले हराउँदै नेपाल एक खेलअघि नै फाइनलमा पुगेको हो । नेपालले दिएको २ सय ४ रनको विशाल लक्ष्य पछ्याएको पीएनजी १९ ओभर ४ बलमा १ सय ६६ रनमा आलआउट भयो । बलिङतर्फ नेपालका करण केसीले ह्याट्रिक गर्दै ५ विकेट लिए । करणले तीन ओभर चार बलमा २१ रन दिएर पाँच विकेट लिएका हुन् । उनी टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ह्याट्रिक लिने पहिलो नेपाली खेलाडी बनेका छन् । २० औँ ओभरमा बलिङ गर्न आएका करणले ओभरको दोस्रो, तेस्रो र चौथौ बलमा लगातार विकेट लिएर ह्याट्रिक पूरा गरेका हुन् । यस्तै सोमपाल कामी र अविनाश बोहराले दुई÷दुई विकेट लिँदा सन्दीप लामिछानेले एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय ३ रन बनाएको थियो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ६६ रन बनाए । यस्तै रोहित पौडेलले ४१, आशिफ शेखले ३८ रन बनाउँदा टी–२० मा डेब्यु गरेका आदिल आलमले ११ बलमा ३१ रन बनाए । यस्तै कुशल भुर्तेलले १७, आरिफ शेखले नटआउट दुई र करण केसीले १ रन बनाउँदा दीलिप नाथ शून्यमै आउट भए ।
लगातार तेस्रो जितसँगै नेपाल एक खेलअघि नै फाइनलमा पुगेको हो । नेपालले यसअघि पहिलो खेलमा पीएनजीलाई र दोस्रो खेलमा मलेसियालाई हराएको थियो । अब नेपालले शनिवार मलेसियासँग खेल्नेछ । फाइनल खेल भने आउँदो सोमवार हुनेछ ।













