त्रिदेशीय टि–२० श्रृखंलाः मलेसियाविरुद्ध नेपालको सहज जित

स्वर्णिम खबर
१६ चैत्र २०७८, बुधबार १९:३४

१६ चैत्र, काठमाडौँ । आशिफ शेखको अर्धसतकीय इनिङ्सको सहयोगमा नेपालले त्रिदेशीय अन्तर्राष्ट्रिय ट्वान्टी–२० मलेसियामाथि ६ विकेटको सहज जित निकालेको छ ।
कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा नेपालले मलेसियाले दिएको एक सय १५ रनको लक्ष्य नेपालले १३.४ ओभरमा चार विकेट गुमाएर पूरा गरेको हो । यससँगै नेपालले त्रिदेशीय अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृखंलामा लगातार दोस्रो जित निकालेको छ । उता पराजित मलेशियाले पनि पिएनजीलाई ८ रनले पराजित गर्दै शृखंलामा सुखद सुरुआत गरेको थियो । जितपछि नेपाली टोलीका कप्तान सन्दीप लामिछानले बलरको उत्कृष्ट प्रदर्शन र आशिफको अर्धसतकीय पारीको सहयोगमा जित सम्भव भएको बताए । रेगुलर इन्टरभलमा बलरलाई विकेट निस्कनु विपक्षीलाई दबाब भएको प्रतिक्रिया दिएका हुन् ।
यस अघिको पहिलो खेलमा नेपालले भ्रमणकारी टोली पपुवा न्यु गिनीलाई १५ रनले पराजित गरेको थियो । नेपाललाई सहज जित दिलाउन अर्धसतकीय खेल खेलका आशिफ ५७ रनमा पवेलियन फर्किएका थिए । ३८ बलको सामना गरेका आशिफले सात चौका र एक छक्का प्रहार गरेका थिए । स्कोरबोर्ड २५ रन बनाउदा दुई विकेट गुमाएको नेपालको इनिङ आशिफ र दीपेन्द्रले तेस्रो विकेटका लागि ७० रनको साझेदारी गर्दै उकासेका थिए । दीपेन्द्रले १७ बलमा एक चौका र एक छक्कासहित २१ रन बनाउँदा दीलिप नाथले अविजित १५ रन र कुशल मल्लले दुई रन जोडे । यस्तै रोहितकुमार पौडेलले १२ रन थपे । त्यसअघि नेपालका अर्का ओपनर कुशल भुर्तेल एक रनमा आउट भएका थिए । मलेसियाका पवनदीप सिंहले दुई विकेट लिदाँ मुहम्मद अमिर र सेद अजिजले समान एक विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय १४ रनको योगफल तयार पारेको थियो । मलेसियाका जुबैदी जुल्किफ्लेले सर्वाधिक ३२ रन बनाएका थिए । यसबाहेक, कप्तान अहमेद फैजले २४, मुहम्मद अमिर १६, सेद अजिजले १४ रन जोडेका थिए । मलेशियाको इनिङलाई सस्तैमा समेट्ने क्रममा कप्तान सन्दीप लामिछानेले र करण केसीले समान दुई÷दुई विकेट लिए । यस्तै, अविनाश बोहरा, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले समान एक÷एक विकेट आफ्नो नाममा लेखाए । ट्वान्टी–२० शृखंला अन्तर्गत नेपालले बिहीबार पिएनजीसँग दोस्रो खेल खेल्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*