फिलिपिन्सविरुद्ध नेपालको विशाल जीत, कुशल भुर्तेलद्वारा पारसको कीर्तिमान बराबर

स्वर्णिम खबर
७ फाल्गुन २०७८, शनिबार १७:२५

७ फागुन, हेटौँडा । आईसीसी टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोटअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले फिलिपिन्सविरुद्ध शानदार जित निकालेको छ ।
नेपालले दिएको २ सय १९ रनको विशाल लक्ष्य पछ्याएको फिलिपिन्स १ सय ३७ रनले पराजित भएको हो । नेपालले कसिलो बलिङ गर्दा फिलिपिन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ८२ रनमा समेटिन पुग्यो । फिलिपिन्सका लागि डेनियल स्मिथले सर्वाधिक २० रनको योगदान दिए । त्यस्तै कप्तान जोनाथन हिलले ११ तथा जोर्डन अलेग्राले अविजित २७ रन ल्याउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । बलिङतर्फ नेपालका कप्तान सन्दीप लामिछाने सर्वाधिक ३ विकेट लिए । त्यस्तै गुल्सन झा, जितेन्द्र मुखिया, अभिनास बोहरा, कुशल मल्ल र दिपेन्द्रसिंह ऐरीले समान एक–एक विकेट हात पारे ।
त्यसअघि ओमानको मस्कटस्थित अल अमिरात क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा तानिएको नेपालले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २ सय १८ रन बनाएको थियो । नेपालको लागि कुशल भुर्तेलले अविजित रहँदै शतक र दिपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गरे । ५७ बलको सामना गरेका भुर्तेलले १३ चौका र १ छक्काको मद्दतमा १ सय रनको पूरा गरेका हुन् । यसअघि टी–ट्वान्टीमा नेपालको तर्फबाट पारस खड्का र ज्ञानेन्द्र मल्लले मात्र शतक प्रहार गरेका छन् । नेपालबाट टी–ट्वान्टी क्रिकेटमा शतक प्रहार गर्ने कुशल तेस्रो खेलाडी हुन् ।


यसैबीच कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीले टी–२० अन्तर्राष्ट्रियमा कीर्तिमानी साझेदारी गरेका छन् । कुशल र दीपेन्द्रले चौथो विकेटका लागि १७१ रनको साझेदारी गर्दै यसअघि पारस खड्का र आरिफ शेखको नाममा रहेको १४५ रनको कीर्तिमान तोडेका हुन् । पारस र आरिफले २०१९ मा सिंगापुर विरुद्ध दोस्रो विकेटका लागि उक्त साझेदारी गरेका थिए ।
जितसँगै नेपाल अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ । यसअघि फिलिपिन्सलाई नै पराजित गर्दै क्यानडा अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको थियो । क्यानडा दुई अंकसहित दोस्रो स्थानमा रहँदा समान दुई अंक भएको ओमान तेस्रो स्थानमा छ । यसअघि शुक्रबार ओमानविरुद्धको खेलमा नेपालले ३९ रनको शानदार जित हात पारेको थियो । सोमबार नेपालले समूहको अर्को टोली क्यानडासँग भिड्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*