विश्वकप छनौटमा नेपालको शानदार जित, ओमान ३९ रनले पराजित

स्वर्णिम खबर
६ फाल्गुन २०७८, शुक्रबार १८:१७

६ फागुन, काठमाडौँ । आईसीसी टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गतको पहिलो खेलमा ओमानविरुद्ध नेपालले शानदार जित निकालेको छ ।
१ सय १८ रनको लक्ष्य पछ्याएको ओमान, १७ ओभरमा अलआउट हुँदै ७८ रनमा समेटिँदा नेपालले ३९ रनको शानदार जित निकालेको हो । ओमानका लागि नशिम खुशीले सर्वाधिक २४ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् । नेपाललाई शानदार जित दिलाउन कमल ऐरीले तीन, सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले समान दुई तथा जितेन्द्र मुखिया र अविनाश बोहोराले एक–एक विकेट लिएका छन् ।
त्यसअघि ओमानको अल अमेरात क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा तानिएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय १७ रन बनाएको थियो । नेपालका लागि आरिफ शेखले नटआउट सर्वाधिक ३८ रन जोड्दा कप्तान सन्दीप लामिछानेले १६ र ज्ञानेन्द्र मल्लले १५ रन बनाएका थिए । यस्तै लोकेश बमले १६ र दीपेन्द्रसिंह ऐरीले ११ रन जोडेका छन् । बलिङतर्फ ओमानका लागि खवर अलीले ३ विकेट लिएका छन् ।
जितसँगै नेपालले स्पष्ट दुई अंक जोडेको छ । यो जितले नेपाल ग्लोबल छनोटको सेमिफाइनल पुग्ने बाटो सहज भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*