दुई खेल अगावै मछिन्द्र बन्यो लिग च्याम्पियन
४ फागुन, काठमाडौँ । साविक विजेता मछिन्द्र फुटबल क्लबले दुई खेल बाँकी छँदै सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि जितेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार दिउँसो भएको खेलमा सातादोबाटोलाई १–० गोल अन्तरले पराजित गर्दै मच्छिन्द्रले उपाधि जितेको हो । मछिन्द्रको लागि विदेशी खेलाडी नुर्लान नोभ्रोजुभले निर्णायक गोल गरे । उनले ५३ औं मिनेटमा गोल गरेका थिए । खेलको नवौ मिनेटमा कप्तान मान बहादुर तामाङको फ्रिकिकलाई गोलरक्षक विशाल श्रेष्ठले सहजै नियन्त्रणमा लिए । १८औं मिनेटमा कप्तान मानबहादुरको कर्नरमा सुदिप गुरुङको प्रहार फितलो बन्दा गोलरक्षक विशाललाई कुनै गाह्रो भएन । लगत्तै काउन्टरमा विमल घर्तीमगरको प्रहारलाई गोलरक्षक अभिषेक बरालले पञ्च गर्दै बचाउँदा मछिन्द्र अग्रता लिनबाट चुक्यो ।त्यसपछि थप गोल निस्कन नसक्दा खेल मछिन्द्रले आफ्नो पक्षमा पार्दै च्याम्पियन बन्न सफल भयो । मछिन्द्रसँगको हारसँगै सातदोबाटो ११ खेलबाट १५ अंक जोडेर छैटौ स्थानमा यथावत रहेको छ । जितसँगै अपराजित रहेको मछिन्द्रको ११ खेलबाट २९ अंक पुगेको छ । मछिन्द्रले ११ खेलमा ९ जित र २ बराबरीको नतिजा निकालेको छ ।













