प्रदेशसभाको वार्षिक उत्सवः सत्तापक्ष र प्रतिपक्षबीच जुहारी
१८ माघ, हेटौँडा । बागमती प्रदेशसभाको मंगलबार चौथो वर्ष पुरा भएको छ ।
सभामुख सानुकुमार श्रेष्ठको अध्यक्षता तथा प्रदेश प्रमुख यादव चन्द्र शर्माको प्रमुख आतिथ्यतामा मंगलबार वार्षिक उत्सव कार्यक्रम सम्पन्न भएको छ । वार्षिक उत्सवको अवसरमा शुभकामना दिने क्रममा सत्तापक्ष र प्रतिपक्षबीच जुहारी समेत चलेको थियो । पुर्वमुख्यमन्त्री एवम् प्रमुख प्रतिपक्षी दलका नेता अष्टलक्ष्मी शाक्यले वर्तमान सरकार संसदको मर्यादा विपरित काम गर्न अग्रसर भएको टिप्पणी गर्नुभयो । प्रदेश सरकारले धान्नै नसक्नेगरी जम्बो मन्त्रिमण्डल विस्तार गरेको उहाँको आरोप थियो । यता मुख्यमन्त्री राजेन्द्र पाण्डेले भने आफुलाई संसदीय मर्यादा र संस्कार नसिकाउन शाक्यलाई आग्रह गर्नुभयो । मुख्यमन्त्री पाण्डेले अहिलेसम्म आफू नेतृत्वको सरकारले एमालेले ल्याएको योजना र बजेट कटौती नगरेको भन्दै गलत कुराको प्रचार गरे गम्भीर दुर्घटना हुन सक्ने चेतावनी समेत दिनुभयो ।
कार्यक्रमबाट प्रदेश सभा दर्पण (पाँचौ अंक) २०७८ र प्रदेश सभाको चिनारी पुस्तकको विमोचन गरिएको छ । प्रदेश प्रमुख शर्माले पुस्तकको विमोचना गर्नुभएको हो । यस्तै वार्षिक उत्सवको अवसरमा प्रदेश सभाको २०७७ माघ १९ गतेदेखि २०७८ माघ १७ गतेसम्म अवधिमा भएका प्रदेशसभाको बैठकमा सहभागी हुनु भएका सदस्यहरुलाई सम्मानपत्र पनि वितरण गरिएको थियो ।













