चिसो र वायु प्रदुषण बढ्दै, सतर्क रहन विज्ञहरुको सुझाव
२१ मंसिर, काठमाडौँ । नेपालमा पश्चिमी वायुको प्रभावले चिसो बढ्नसक्ने भन्दै शतर्क रहन विज्ञहरुले सचेत गराएका छन् ।
पश्चिमी वायु मरुभूमिबाट प्रवाह हुने भएकोले पानीको मात्रा कम हुने र धुलोको मात्रा धेरै हुने र त्यस वायुले पृथ्वीको सतह नजिकै बसिरहने भएकोले गर्दा चिसो बढ्न सक्ने भन्दै त्यसतर्फ विज्ञहरुले सचेत गराएका हुन् । पश्चिमी वायुका कारण उच्च हिमाली क्षेत्रसहित देशभर हावा प्रवाह सुचारुरुपमा हुन नसक्दा यसको सिधा असर जनस्वास्थ्यमा पर्ने भएको भन्दै विज्ञहरुले त्यसतर्फ तयारी थाल्न सरकारलाई सुझाव दिएका हुन् । जलवायु विज्ञ डा. धर्मराज उप्रेतीले जलवायुजन्य विपद्बाट बच्न राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले आवश्यक रणनैतिक तयारी थाल्नुपर्ने बताउनु भयो । उहाँले भारतमा हरेक वर्षमा ४ वटा चक्रवातहरु आउने र त्यसको असर नेपालमा पनि पर्ने भएकोले जनताको स्वास्थ्य सुरक्षाका लागि सचेतनासहितको चरणवद्ध तयारी थाल्नुपर्ने बताउनु भयो । मास्कले कोरोनाका साथसाथै वायु प्रदूषणबाट पनि बचाउने भएको भन्दै उहाँले अहिले जीवन बचाउने पद्धति भनेकै मास्क भएको र यसको अनिवार्य प्रयोग गर्न पनि आग्रह गर्नुभयो । वायु प्रदूषण बढेको बेला घातक हावाको तह पृथ्वी नजिक हुने भएकोले सो समयमा घरबाहिर ननिस्किन आग्रह गर्दै उहाँले अत्याधिक वायुप्रदूषण भएमा विद्यालय बन्द गर्नुपर्ने स्थिती आउनसक्ने तर्फ सरोकारवालाहरुलाई सचेत गराउनु भयो । डा. उप्रेतीले धेरै प्रदूषण गराइरहेका उद्योगधन्दा आलोपालो गरेर चलाउने, धेरै प्रदूषण गराउने सवारीसधानहरु बन्द गर्ने लगायतका काम गरेमा प्रदूषणबाट बच्न सकिने बताउनु भयो । डा. उप्रेतीले राष्ट्रिय आपत्कालीन केन्द्रले आउँदै गरेको जोखिमलाई मध्यनजर गरी त्यसबारेमा आम नागरिकहरुलाई सचेत गराउन आवश्यक रहेको बताउनु भयो । उहाँले वायुप्रदूषणलाई बेवास्ता गरेमा यसले मृत्युदर बढाउने चेतावनी समेत दिनुभयो । वायुप्रदूषणजन्य विपद्बाट बच्न बहुप्रकोपीय उपाय अपनाउन पनि उहाँले आग्रह गर्नुभयो । यता राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका सूचना अधिकारी डा. डिजन भट्टराईले शीतलहर र मनसुनजन्य विपद्को प्रतिकार्य, राहतउद्धार गर्ने कामको कार्यान्वयन गर्ने मुल जिम्मेवारी जिल्ला र स्थानीय तहलाई दिएकोले स्थानीय तहले नै सम्पूर्ण काम गर्ने बताउनु भयो । संविधानले विपद् व्यवस्थापनलाई एकल अधिकारको क्षेत्रमा राखेको कारण स्थानीय विपद् व्यवस्थापन समितिले धेरै काम आफै गर्न सक्ने भएकोले राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले स्थानीय विपद् व्यवस्थापन समितिलाई नीतिगत रुपमा बलियो बनाउन लाग्ने बताउनु भयो । उहाँले प्रवक्ता भट्टराईले स्थानीय विपद् व्यवस्थापन समितिले मागेका कुराहरु प्राधिकरणले पूरा गर्ने बताउनु भयो । उहाँले स्थानीय तहले मागेअनुसारको राहत दिन पनि प्राधिकरण तयार रहेको बताउनु भयो ।प्रवक्ता भट्टराईले हालसम्म प्राधिकरणमा आफैँ पूर्व सूचना प्राप्त गर्ने संयन्त्र निर्माण गर्न नसक्नु चुनौति रहेको बताउनु भयो । उहाँले मौसम विज्ञान विभाग (डीएचएम) बीचको सहकार्यमा आएका सूचनाहरुलाई गम्भीरताका साथ लिएर मात्रै जनतासमक्ष पूर्वसूचना दिने गरेको बताउनु भयो ।सूचना अधिकारी भट्टराईले मौसम पूर्वानुमान महाशाखाले जारी गरेको सूचनालाई प्रमाणीकरण गरेर मात्रै जनतालाई सूचना दिने गरिएको बताउनु भयो ।













