नेपालमा पनि भेटियो कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन
२० मंसिर, काठमाडौँ । नेपालमा कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ पुष्टि भएको छ ।
मंसिर १९ गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको कोरोना परीक्षणमा दुई विदेशी नागरिकहरुमा ओमिक्रोन पुष्टि भएको हो । नयाँ भेरियन्ट ओमिक्रोन नेपालमा पुष्टि भएको यो पहिलो केस भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिनु भयो । उहाँले संक्रमण पुष्टि भएकाहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र संक्रमितहरुमा कुनै लक्षण नभएको बताउनु भयो । सह प्रवक्ता अधिकारीकाअनुसार संक्रमित दुवैजना स्वास्थ्यकर्मीको निगरानीमा रहेको र उनीहरुको सम्पर्कमा आएकाहरुलाई मन्त्रालयले कन्ट्याक्ट ट्रेसिङ गरी छुट्याएर राखिएको छ । कन्ट्याक्ट ट्रेसिङमा परेका सबैको कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको बताउनु भयो । सहप्रवक्ता अधिकारीले सरकारले विभिन्न नाकाहरुमा तीव्रताका साथ निगरानी बढाएको बताउनु भयो । उहाँले यो भेरियन्टको लक्षण र असर पहिलेको भाइरससरह नै भएको बताउनु भयो । सहप्रवक्ता अधिकारीले यसबाट बच्नका लागि मास्क लगाउने, सरसफाइमा ध्यान दिने, हात धुने काम गर्नुपर्ने बताउनु भयो । उहाँले यसबाट जनस्वास्थ्यको सुरक्षाका लागि सरकारले खोपको व्यवस्थापन, स्वास्थ्यका मापदण्डहरुमा केन्द्रित भएको र आवश्यक अस्पताल, शैय्या र भेन्टिलेटर आदिको व्यवस्था पनि गरेको बताउनु भयो । सहप्रवक्ता अधिकारीकाअनुसार छिमेकी देश भारतमा नयाँ भेरियन्टका संक्रिमित बढीरहेकोले नेपालमा पनि संक्रमित बढ्न सक्ने सम्भाव्यतालाई मध्यनजर गरी विदेशबाट आउने नागरीकहरुलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था गरेको बताउनु भयो । उहाँले नयाँ भेरियन्टबाट बच्नको लागि देशभित्रै रहेका मानिसहरुले पनि स्वास्थ्यका मापदण्डको पूर्ण पालना गरेमा संक्रमण बढ्नबाट रोक्न सकिने बताउनु भयो ।













