वायु प्रदुषण बढ्दै गए लकडाउन गर्नुपर्ने हुन सक्छः डाः धर्मराज उप्रेती

स्वर्णिम खबर
२ मंसिर २०७८, बिहीबार १९:३६

२ मंसिर, काठमाडौँ । विज्ञहरुले नेपालमा वायु प्रदूषण बढ्दै गएको भन्दै आम नागरिकहरुलाई सचेत रहन आग्रह गरेका छन् ।
जलवायु विज्ञ डा. धर्मराज उप्रेतीले नेपालमा वायु प्रदूषण बढ्दै गएकाले त्यसतर्फ सचेत रहन आग्रह गर्नुभएको हो । बंगालको खाडी र पश्चिम अरेबियन सागरमा उत्पन्न भएको एक किसिमको जलवायु प्रणालीका कारण भारतका केही शहरहरुमा भीषण वर्षा हुने र त्यसको असर नेपालमा पनि देखिने बताउनुभयो । डा. उप्रेतीले बुधवार बेलुकादेखि नै काठमाण्डौं लगायत देशभरका केही शहरहरुमा वायुको गुणस्तर कम भएको बताउनुभयो । उहाँले दक्षिण भारतमा २ सय १५ मिलिमिटर भन्दा बढी वर्षा हुने सम्भावना रहेको र भारतमा देखिएको प्रदूषण उत्तरतर्फ सर्दा नेपालमा असर पर्ने बताउनुभयो । डा. उप्रेतीले नेपालमा वर्षा नभए पनि उच्च हिमाली क्षेत्रमा हिमपात र बाक्लो कुहिरो लाग्ने तथा तराईमा शीतलहर देखापर्ने बताउनुभयो । डा. उप्रेतीले वायु प्रदूषण कम गर्न धुलोलाई घटाउने गरी नगरपालिकाहरुले पानी छर्कने, उद्योगधन्दा केही दिनका लागि बन्द गर्ने र सवारीसाधन बन्द गर्ने लगायतका काम बेलैमा गर्नुपर्ने बताउनु भयो । उहाँले वायु प्रदूषण बढ्दै गएमा देशव्यापी लकडाउन गर्नुपर्ने बताउनुभयो । डा. उप्रेतीले वायु प्रदूषणका कारण श्वासप्रश्वासमा समस्या हुनेदेखि विभिन्न रोगहरु निम्त्याउन सक्ने बताउनु भयो ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*