खोप खरिदमा अनियमितता गर्नेहरुमाथि कडा कारबाही गर्न सरकारलाई निर्देशन

स्वर्णिम खबर
२५ श्रावण २०७८, सोमबार १७:५२

२५ साउन, काठमाडौं । संसदीय समितिले कोभिडविरुद्धको खोप खरिदमा अनियमितता गर्नेहरुमाथि कडा कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ ।
संघीय संसद राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले कोरोनाविरुद्धको खोप खरिदमा अनियमितता भए÷नभएको अनुसन्धान गरी दोषीमाथि कडा कारबाही गर्न सरकारलाई निर्देशन दिएको हो । खोप खरिदमा भएको अनियमितताबारे अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारलाई सचेत गराइएको समितिकी सभापति निरुदेवी जैरुले जानकारी दिनु भयो । समितिले कोभिडको तेस्रो लहर आउन नदिने गरी पूर्व तयारीका लागि आवश्यक सामग्रीहरुको उचित प्रबन्ध गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराएको छ । सभापति जैैरुले कोभिड संक्रमितहरुको संख्यामा वृद्धि हुन लागेकाले उनीहरुको उपचार तथा तेस्रो भेरियन्ट आउन नदिने गरी तयारी गर्न पनि सरकारलाई भनिएको स्पष्ट पार्नु भयो । बैठकमा समितिका सदस्यहरुले सबै नागरिकलाई कोभिड खोप लगाउने व्यवस्था गर्न ढिलाई नगर्न सरकारलाई सचेत गराएका थिए । बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले कोभिड संक्रमण नियन्त्रणका लागि सरकारले भारत र चीन दुवै मुलुकको सीमामा कडाई गरिरहेको बताउनु भएको थियो । उहाँले कोभिडको तेस्रो लहर आउन नदिन पनि सरकारले विभिन्न उपायको खोजीरहेको जानकारी समितिलाई गराउनु भएको थियो । सरकारले आगामी चैत्र भित्र सबै नागरिकलाई कोभिडविरुद्धको खोप लगाईसक्ने योजना सार्वजनिक गरेको छ । तर त्यस अनुसारको कामलाई भने अघि बढाउन नसकेको समितिको निष्कर्ष छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*