कोरोनाविरुद्धको खोप सबै नागरिकले लगाउन पाउने गरी व्यवस्था गर्न सरकारलाई सुझाव

स्वर्णिम खबर
२१ श्रावण २०७८, बिहीबार १८:१५

२१ साउन, काठमाडौं । प्रतिनिधि सभा अन्र्तगतको शिक्षा तथा स्वास्थ्य समितिले कोभिड १९ विरुद्धको खोप सबै नागरिकले लगाउन पाउने गरी व्यवस्था गर्न सरकारलाई सुझाव दिएको छ ।
समितिको बिहीबारको बैठकले कोभिड १९ विरुद्धको खोप सबै नेपालीले लगाउन पाउनेगरी व्यवस्था गर्न सरकारलाई सुझाव दिएको हो । त्यसैगरी समितिले तोकिएको लक्षित समुहलाई खोप दिन पनि सरकारको ध्यानाकर्षण गराएको छ । फ्रन्टलाइनका काम गर्ने मजदुर, श्रमिक, व्यवसायी, शिक्षक, विद्यार्थी लगायतलाई प्राथमिकतामा राख्न पनि समितिले सरकारलाइृ सुझाव दिएको छ । समिति बैठकमा बोल्दै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले असोज सम्ममा १ करोड ५ लाख खोप उपलब्ध हुने बताउनुभयो । उहाँले जापानबाट ८ लाख र भुटानबाट ३ लाख खोप आइतबार सम्ममा आउने जानकारी दिदैँ साउन २५ गतेदेखि ३२ गतेसम्म खोप सप्ताह मनाइने पनि बताउनुभयो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले अबको पाँच महिनामा १ लाख ९३ हजार ८ सय ५६ नयाँ संक्रमित थपिने सम्भावना रहेको बताउनुभयो । त्यसमध्ये ९ हजार ६ सय ९३ जनालाई सघन उपचार आवश्यक पर्नसक्ने सम्भावना रहेको उहाँले उल्लेख गर्नुभयो । स्वास्थ्य मन्त्रालयका नीति, योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. गुण राज लोहनीले कोभिड संक्रमण नियन्त्रणका लागि तिनै तहको सरकारबीच आपसी समन्वय हुनुपर्नेमा जोड दिनुभयो । तिन तहका सरकारबीच एकले अर्कोलाई नमान्ने गरेका कारण समस्या उत्पन्न हुने गरेको उहाँले बताउनुभयो । डा. लोहनीले प्रत्येक प्रदेशमा स्वास्थ्य मन्त्रालय हुनुपर्ने र चिकित्सकहरु केन्द्र मातहत हुनुपर्नेमा जोड दिनुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*