चैत्र मसान्त भित्र सबै नेपालीलाई खोप लगाई सक्नेः स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

स्वर्णिम खबर
१८ श्रावण २०७८, सोमबार १४:३६

१८ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आगामी चैत्रसम्म सबै नेपाली नागरिकलाई कोभिड खोप लगाईसक्ने योजना सार्वजनिक गर्नुभएको छ ।

सोमबार मन्त्रालयका आफ्नो सार्वजनिक स्वास्थ्य र कोभिड महामारी नियन्त्रणबारे २३ बुँदे नीतिगत प्रतिवद्धता र कार्ययोजना सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्नुहुँदै राज्यमन्त्री श्रेष्ठले नागरिकको जीवन रक्षा गर्नु आफ्नो सर्वोच्च प्राथमिकता हुने उल्लेख गर्दै चैत्र मसान्त भित्र सबै नेपालीलाई खोप लगाई सक्ने बताउनु भएको हो । कार्य योजनामा खोप खरिद, त्यसको व्यवस्थापन र वितरण प्रणालीमा अभिलम्ब सुधार गरी निर्धारित समयभित्रै सबै नागरिकलाई खोप लगाउने प्रतिवद्धता समेत व्यक्त गरिएको छ । खोपको व्यवस्थापन हुने गरी खोप कूटनीतिलाई उच्च प्राथमिकता दिएको पनि राज्यमन्त्री श्रेष्ठले स्पष्ट पार्नु भयो । कार्य योजनामा कोभिड १९ को तेस्रो लहरको सामना गर्नका लागि समय तालिकासहितको विशेष रणनीति र कार्ययोजना अभिलम्ब सार्वजनिक गर्ने उल्लेख गरिएको छ । राज्यमन्त्री श्रेष्ठले कोभिड १९ को तेस्रो लहर आउन नदिन जनस्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न पनि सबैै नेपालीलाई आह्वान गर्नु भएको छ । पत्रकार सम्मेलनमा राज्यमन्त्री श्रेष्ठले सुरक्षाकर्मीबाहेकका कुनै पनि सरकारी सेवासुविधा नलिने घोषणा गर्नु भएको छ । उहाँले पदमा बहाल रहँदा स्वार्थ बाझिने उल्लेख गर्दै व्यापार–व्यवसायमा आफू संलग्न नहुने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*