मकवानपुरमा बुधबार १ सय ६९ जना कोरोना संक्रमणमुक्त, ५७ जना संक्रमित थपिए
२ असार, हेटौँडा । मकवानपुरमा बुधबार १ सय ६९ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
विभिन्न मितिमा कोरोना संक्रमित भई होम आइसोलेशन र संस्थागत आइसोलेशनमा रहेका १ सय ६९ जना बुधबार संक्रमण मुक्त भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । सबैभन्दा बढी हेटौंडा उपमहानगरपालिकाभित्रका ६१ जना संक्रमणमुक्त भएका छन् । यस्तै थाहानगरपालिकाका २४ जना, मकवानपुरगढी गाउँपालिकाका १ जना, बागमती र कैलाश गाउँपालिकाका २–२ जना, बकैया गाउँपालिकाका १६ जना, मनहरी गाउँपालिकाका २८ जना, भिमफेदी गाउँपालिकाका ६ जना र राक्सिराङ गाउँपालिकाका ३२ जनाले कोरोना जितेका छन् । योसंगै मकवानपुरमा हाल सम्म कोरोना मुक्त हुनेको संख्या ८ हजार ६ सय ८१ पुगेको छ ।
पछील्लो २४ घण्टामा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २१ जना पीसीआर परिक्षणबाट र ३६ जना एन्टीजेन परिक्षणबाट कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । यो संगै मकवानपुरमा कोरोना संक्रमित हुनेहरुको कुल संख्या १० हजार २५ पुगेको छ ।
यसैगरी मकवानपुरमा थप २ जना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा हेटौंडा अस्पतालमा उपचारत हेटौंडा उपमहानगरपालिका र भीमफेदी गाउँपालिका भित्रका एकएक जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । मृत्यु हुनेमा हेटौंडा १३ को ६७ वर्षीया महिला र भीमफेदी ९ को ३१ वर्षीया महिला रहेकी छन् । यो संगै मकवानपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय १३ पुगेको छ ।













