बजेट बढाएर ल्याउने बागमती प्रदेश सरकारको तयारी
५ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८÷०७९ को बजेट बढाएर ल्याउने भएको छ ।
कोरोनाको दोश्रो लहरको कारण स्वास्थ्य क्षेत्रमा धेरै बजेट छुट्याउनु पर्ने र बहुवर्षीय योजनाहरुलाई समेत पुरा गर्नुपर्ने हुँदा बजेट बढ्न सक्ने आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले बताउनुभयो । चालु आर्थिक वर्षमा प्रदेश सरकारले ५१ अर्बको बजेट ल्याएको थियो । आगामी वर्षको नीति तथा योजना र बजेट निर्माणमा सबै मन्त्रालय लागिसकेका छन् । पूर्वबजेटसम्बन्धी छलफल भएर मात्रै बजेट सिलिङ मन्त्रालयलाई पठाइएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । यस्तै नीति योजना तथा बजेट यर्थापरक बनाउन मुख्यमन्त्री डोरमणि पौडेलले सबै मन्त्रालयका सचिवहरुलाई निर्देशन समेत दिनुभएको छ । आउँदो असार १ गते प्रदेश सरकारले बजेट सार्वजनिक गर्ने भएपनि नीति तथा कार्यक्रम सार्वजनिक हुने मिति टुंगो लागेको छैन तर बजेट ल्याउनुपूर्व नै नीति तथा कार्यक्रम घोषणा गर्ने आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।













