बाइपास सडक निर्माण गर्दा २५ मिटर आवश्यक पर्दैनः मुख्यमन्त्री बानियाँ

स्वर्णिम खबर
२१ चैत्र २०८२, शनिबार १७:१६

२१ चैत्र, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले हेटौंडाको सडकलाई अन्योलमा राख्न नहुने बताउनुभएको छ ।
हेटौंडाको सडकलाई १६ मिटर कि २५ मिटरमा अल्झाउन नहुने उहाँको भनाई छ । मकवानपुर उद्योग वाणिज्य संघको ५९ औं वार्षिक साधारणसभामा बोल्नुहुँदै मुख्यमन्त्री बानियाँले राप्तीपुल देखि रातोमाटेसम्म बाइपास सडक निर्माण गर्दा हेटौंडा बजारमा १६ मिटर मात्रै सडक विस्तार आवश्यक पर्ने बताउनुभयो । संघीय सरकारसंग आवश्यक समझदारी गरेर प्रदेश सरकारले आवश्यक परे क्याबिनेटबाटै सडक विषयमा निर्णय गर्न सरकार तयार रहेको समेत उहाँले जिकिर गर्नुभयो ।
प्रदेश राजधानीलाई लामो समयसम्म अव्यवस्थित रुपमा राख्न नहुने उहाँले बताउनुभयो । मुख्यमन्त्री बानियाँले राज्य सञ्चालनको सवालमा सरकार कठोर हुनुपर्ने भएपनि निर्दयी हुन नहुने बताउनुभयो । उहाँले हेटौंडाको सडकलाई उपयुक्त निकास दिन लागि पर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
त्यसैगरी मुख्यमन्त्री बानियाँले सडक विस्तारबाट प्रभावित व्यवसायीहरुलाई कर्जामा छुट दिन संघीय सरकारसंग अनुरोध गर्नुभयो । व्यवसायीहरुको हितको लागि नयाँ जनादेशबाट बनेको सरकार संग बागमती प्रदेश सरकार सहकार्य गर्न तयार रहेको उहाँले बताउनुभयो । सरकारी मिडिया बाहेक अन्य मिडियामा विज्ञापन गर्न नपाउने संघीय सरकारको निर्णय प्रति कटाक्ष गर्दै मुख्यमन्त्री बानियाँले अधिकार भए सो कुराको परिपत्र प्रदेश सरकारलाई गर्न पनि आग्रह गर्नुभयो ।


तीन वटै तहको सरकारले गर्ने काम संविधानमा नै स्पष्ट किटान भएकोले संविधान संशोधन नहुुँदा सम्म संविधान अनुरुप नै सरकारले काम गर्नुपर्ने उहाँले बताउनुभयो । व्यवसायीहरुको राहतको लागि संविधान संशोधन गरि रहन नपर्ने बताउनुहुँदै मुख्यमन्त्री बानियाँले राष्ट्र बैंकका गभर्नरले व्याज मिनाहा गरिदिनु पर्ने बताउनुभयो ।
संघका अध्यक्ष प्रमोदसिंह रानाभाटको सभाध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशसभा सदस्यहरु एकालाल श्रेष्ठ भारती पाठक, प्रेमबहादुर पुलामी, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी, संघका पूर्व अध्यक्ष अरुणराज सुमार्गी, कृष्ण अग्रवाल, भुवनलाल श्रेष्ठ, राजकुमार न्यौपाने लगायतको आतिथ्यता रहेको थियो । मकवानपुर उद्योग वाणिज्य संघमा २ हजार २ सय ६५ जना सदस्य छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*