ढालाभन्दा बढी लोड बोक्ने टिप्परलाई प्रशासनको चेतावनी
१७ चैत्र, हेटौँडा । तोकिएको मापदण्डभन्दा बढी ढुङ्गा बोकेर सञ्चालनमा रहेका टिप्परलाई प्रशासनले कडाइ गर्न थालेको छ ।
प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले अत्यधिक लोड बोक्ने ८ वटा टिप्परलाई सचेत गराउँदै नियमअनुसार मात्रै लोड गर्न निर्देशन दिनुभएको छ । राक्सिराङस्थित खानी क्षेत्रबाट ढुङ्गा बोकेर आएका केही टिप्परले मापदण्डभन्दा बढी लोड बोकिरहेको पाइएपछि प्रशासनले अनुगमन गरी लोड भन्दा बढी ढुङ्गा झार्न लगाएको थियो । तोकिएको क्षमताभन्दा बढी बोकेको ढुङ्गा सडकमै झारेर नियमानुसार मात्रै ढुवानी गर्न लगाइएको प्रशासनले जनाएको छ ।
प्रजिअ अधिकारीले सवारीसाधनले निर्धारण गरिएको मापदण्ड पालना नगरे कडा कारबाही गरिने चेतावनी दिनुभएको छ । तोकिएको क्षमताभन्दा बढी लोड बोक्नु गैरकानुनी रहेको भन्दै अटेर गरे कार्वाही गरिने बताउनुभयो । साथै ढुंगालाई त्रिपालले छोप्न समेत निर्देशन दिनुभएको छ । अत्यधिक लोडका कारण दुर्घटनाको जोखिम बढ्ने भएकाले यस्ता गतिविधि नियन्त्रण गर्न कडाइ गरिएको हो ।













