शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको काम तत्काल अघि बढ्छः प्रधानमन्त्री साह

स्वर्णिम खबर
१७ चैत्र २०८२, मंगलवार १५:००

१७ चैत्र, हेटौँडा । प्रधानमन्त्री बालेन्द्र साहले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको काम तत्काल अघि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
मंगलवार सिंहदरबारस्थित आफ्नै सरकारी निवासमा सुदूरपश्चिम प्रदेशका सांसदहरुसँग सामूहिक भेट गरी उहाँले सो प्रतिवद्धता व्यक्त गर्नुभएको हो । त्यस अवसरमा उहाँले सो विश्वविद्यालय अघि बढाउनका लागि आवश्यक बजेट तत्काल निकासा गराउने समेत बताउनुभएको भेटमा सहभागी कञ्चनपुर क्षेत्र नम्बर १ का सांसद जनकसिंह धामीले जानकारी दिनुभयो । सो अवसरमा प्रधानमन्त्री साहले चालु आर्थिक वर्षको बजेट सीमित भएकाले त्यसले धान्नेगरी तत्काल गर्नुपर्ने कामलाई सरकारले प्राथमिकताका साथ अघि बढाउने समेत बताउनु भएको थियो । आफूहरुले प्रधानमन्त्रीलाई भारतसँगको सीमा क्षेत्रको व्यवस्थापन,खानेपानी, शिक्षा, स्वास्थ्य क्षेत्रका अति आवश्यक विषयहरुको बारेमा पनि जानकारी गराएको सांसद धामीले बताउनु भयो ।
बैठकमा प्रधानमन्त्री साहले गोकुलेश्वर विमानस्थल सञ्चालनको कामलाई पनि द्रुत गतिमा अघि बढाउने आश्वासन दिनुभएको थियो । धनघढी–दीपायल दु्रतमार्ग, अति जरुरी सडक, खानेपानी लगायतका जनताका समस्याबारे पनि प्रधानमन्त्री साहलाई ब्रिफिङ गरिएको भेटमा सहभागी कैलाली क्षेत्र नम्बर ४ का सांसद खेमराज कोइरालाले बताउनु भयो ।
प्रधानमन्त्री साहले विकास निर्माणको कामलाई प्राथमिकताका साथ अघि बढाउनका सांसदहरुसँगका भेटवार्तालाई निरन्तरता दिइरहनुभएको हो । भेटमा उहाँले अति जरुरी जनचासाको योजनाहरुलाई रोकेर राख्ने पक्षमा सरकार नरहेको बताउने गर्नुभएको भेटमा सहभागी सांसदहरुले बताएका छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*