दुर्गम चेपाङ गाउँमा स्वास्थ्य इकाई सञ्चालनमा
१७ चैत्र, हेटौँडा । राक्सिराङ गाउँपालिका–४ स्थित विकट घोरकोटे क्षेत्रमा घोरकोटे सामुदायिक स्वास्थ्य इकाई सञ्चालनमा ल्याइएको छ ।
भौगोलिक रूपमा दुर्गम रहेको चेपाङ बस्तीका नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले उक्त इकाई स्थापना गरिएको हो । सोमबार आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी लगायत, वडा अध्यक्ष संजय कोइरालाको उपस्थितिमा इकाईको उद्घाटन गरिएको हो । इकाई सञ्चालनका लागि बागमती प्रदेश सरकार र गाउँपालिकाबाट १०÷१० लाख रुपैयाँ विनियोजन गरिएको छ । उक्त बजेटमध्ये १२ लाख रुपैयाँको लागतमा आफ्नै भवन निर्माणको काम अघि बढाइएको छ भने ८ लाख रुपैयाँ व्यवस्थापनमा खर्च गरिने वडा अध्यक्ष कोइरालाले जानकारी दिनुभयो ।
यसअघि यहाँका स्थानीयलाई सामान्य स्वास्थ्य सेवा लिन समेत आफ्नै वडास्थित स्वास्थ्य चौकी पुग्न करिब दुई घन्टा र वडा नम्बर ९ को स्वास्थ्य केन्द्र पुग्न चार घन्टासम्म पैदल हिँड्नुपर्ने बाध्यता थियो । अब भने गाउँमै स्वास्थ्य सेवा उपलब्ध भएपछि स्थानीयवासीमा उत्साह देखिएको छ । इकाईबाट बिरामी जाँच, नियमित खोप सेवा, औषधि वितरणलगायतका आधारभूत स्वास्थ्य सेवा प्रदान गरिनेछ । गाउँपालिकाले हालका लागि एक जना अहेब र एक जना कार्यालय सहयोगी खटाएको छ ।
हाल इकाई भाडाको भवनमा सञ्चालनमा रहे पनि चाँडै आफ्नै भवनबाट सेवा दिने तयारी गरिएको छ । उद्घाटनकै दिन ९२ वर्षीय धनपति चेपाङले पहिलो पटक स्वास्थ्य संस्थाबाट उपचार सेवा लिनुभएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तथा गाउँपालिका अध्यक्षले समेत स्वास्थ्य जाँच गराउनुभएको थियो ।













