पत्रकार महासंघको स्थापना दिवसको अवसरमा हेटौंडामा प्रभातफेरी
१६ चैत्र, हेटौँडा । नेपाल पत्रकार महासंघको ७१ औं स्थापना दिवसको अवसरमा सोमबार हेटौंडामा प्रभातफेरी निकालिएको छ ।
पत्रकार महासंघ बागमती प्रदेश समिति र मकवानपुर शाखाको संयुक्त आयोजनामा प्रभातफेरी निकालिएको हो । प्रभातफेरी सिमाचोकबाट सुरु भएर बुद्धचोक हुँदै मकवानपुर उद्योग वाणिज्य संघ चोक पुगेको थियो र पुनः सिमाचोकमा फर्केर कोणसभामा परिणत भएको थियो । कोणसभामा महासंघ बागमती प्रदेश अध्यक्ष कृष्ण सारु मगरले वर्तमान परिस्थितिमा पत्रकारको हकहित सुरक्षित राख्दै अगाडि बढ्नुपर्ने औँल्याउनुभयो । उहाँले मिडियामाथि भइरहेका चौतर्फी आक्रमणका बाबजुद पेशागत मर्यादा कायम राख्नुपर्नेमा जोड दिनुभयो ।
सामाजिक सञ्जाल प्रयोगकर्ता र पत्रकारबीचको भिन्नता आम नागरिकले छुट्याउन नसक्दा पत्रकारिताको विश्वसनीयता र सुरक्षामा चुनौती थपिएको बताउँदै उहाँले नागरिकको हकहितका लागि पत्रकारले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्नुभयो । त्यसैगरी, महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीले नागरिक पत्रकारितालाई प्रवर्धन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले अधिकारसँगै कर्तव्य पनि जोडिएको भएकाले पत्रकारले पेशागत मर्यादा कायम राख्दै सामाजिक उत्तरदायित्व पूरा गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्ट, बर्तमान उपाध्यक्ष हरि हुमागाई, महासंघ मकवानपुर साखाका पूर्व अध्यक्ष राममणि दाहाल लगायतकाको आतिथ्यता रहेको थियो ।













