हेटौंडामा बागमती प्रदेशस्तरीय कृषि प्रदर्शनी मेला सुरु
१३ चैत्र, हेटौँडा । कृषि उपजको उत्पादन, विविधीकरण तथा बजारीकरणमा सहयोग पु¥याउने उद्देश्यले मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा शुक्रबारदेखि प्रदेश राजधानी हेटौंडामा बागमती प्रदेशस्तरीय कृषि प्रदर्शनी मेला सुरु भएको छ ।
हेटौंडा उपमहानगरपालिका–२ स्थित पल्पसा सभाहल परिसरमा सुरु भएको मेला चार दिनसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । मेलाको उद्घाटन बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसुदन पौडेलले गर्नुभएको हो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री पौडेलले कृषि क्षेत्रको प्रवद्र्धनका लागि यस्ता प्रदर्शनीहरूले महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गर्नुभयो । उद्योग, वाणिज्य र कृषि क्षेत्रबीच गहिरो अन्तरसम्बन्ध रहेको उल्लेख गर्दै उहाँले कृषि क्षेत्रलाई व्यवस्थित नगरी अन्य क्षेत्रको विकास सम्भव नहुने बताउनुभयो ।
कृषि नै जीवनको मूल आधार हो भन्दै मानव सभ्यताको विकास पनि कृषि युगबाटै सुरु भएको उहाँले बताउनुभयो । उहाँले सधैं ‘कृषि प्रधान देश’ भन्नेमा मात्र सीमित नरही आधुनिक कृषि प्रणालीतर्फ उन्मुख हुनुपर्नेमा जोड दिनुभयो । प्रदेश सरकारले कृषकलाई अल्छी बनाउने किसिमको अनुदान नदिने स्पष्ट पार्दै लक्षित वर्गसम्म प्रभावकारी रूपमा अनुदान पुग्नुपर्ने बताउनुभयो । अनुदान प्रक्रियामा अनियमितता पाइए कडाभन्दा कडा कारबाही गरिने चेतावनी दिँदै अब उत्पादनमा आधारित अनुदान र ब्याज अनुदान मात्रै उपलब्ध गराइने जानकारी दिनुभयो ।
प्रदर्शनीमा सिन्धुली, रामेछाप, काभ्रे, काठमाडौं, चितवन र मकवानपुरका कृषक तथा कृषि उद्यमीका करिब ४० वटा स्टल रहेका छन् । मेलामा कोदो, जुनेलो, फापरको पिठो, गेडागुडी, केराको चिप्स, मह, माटोका सामग्री, मसला, बाँसका सामग्री, सिमल तरुल, आलु, गुन्द्रुक, च्याउ, माछा तथा अल्लोबाट बनेका कपडालगायतका वस्तु बिक्रीका लागि राखिएका छन् । स्टलहरू निःशुल्क रूपमा उपलब्ध गराइनुका साथै सहभागी कृषक तथा उद्यमीका लागि खाने र बस्ने व्यवस्था समेत संघले मिलाएको जनाएको छ । करिब ६ लाख रुपैयाँ लागतमा आयोजना गरिएको उक्त मेलाका लागि बागमती प्रदेश सरकारले हेटौंडा उपमहानगरपालिकामार्फत ५ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद सिंह रानाभाटले कृषकको मनोबल वृद्धि गर्न र युवाहरूलाई कृषि क्षेत्रमा आकर्षित गर्ने उद्देश्यले मेला आयोजना गरिएको बताउनुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी, वडा नं. ११ का अध्यक्ष जुना दाहाललगायतको उपस्थिति रहेको थियो ।













