हेटौँडा बचतको निर्वाचन सम्पन्न, २८ सय ८७ मत खस्यो
१३ चैत्र, हेटौँडा । हेटौंडा बचत तथा ऋण सहकारी संस्थाको निर्वाचन सम्पन्न भएको छ ।
संस्थाको २५ वर्षे इतिहासमा पहिलो पटक नेतृत्व चयनका लागि निर्वाचन गरिएको हो । कुल ६ हजार ९ सय ९३ मतदाता रहेको संस्थामा शुक्रबार सम्पन्न निर्वाचनमा २ हजार ८ सय ८७ मत खसेको निर्वाचन अधिकृत बिरेन्द्र प्रसाद ढुंगानाले जानकारी दिनुभयो । मतदान प्रक्रिया हेटौंडा–७ स्थित नवज्योति माध्यमिक विद्यालयमा बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन गरिएको थियो । अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष र लेखा समिति संयोजक गरी चार पदका लागि मतदान भएको हो । अन्य पदहरू भने सर्वसम्मत चयन भइसकेका छन् ।
अध्यक्ष पदमा संस्थाका निवर्तमान व्यवस्थापक रामशरण गौतम र पूर्व कर्मचारी राजु वाइवा प्रतिस्पर्धामा छन् । पूर्व व्यवस्थापक र कर्मचारीबीचको यो प्रतिस्पर्धालाई विशेष चासोका साथ हेरिएको छ । त्यसैगरी उपाध्यक्ष पदमा खडानन्द चौलागाईं, दीपक अधिकारी र सिताराम प्रधान उम्मेदवार रहेका छन् ।
कोषाध्यक्ष पदका लागि भीमसेन गौतम र मोनिका पौडेलबीच प्रतिस्पर्धा भइरहेको छ भने लेखा समिति संयोजक पदमा कविन पन्त र विष्णु प्रसाद अर्जोल उम्मेदवार छन् । मतगणना भोलि बिहान ७ बजेदेखि सहकारीको मुख्य कार्यालय, हेटौंडा–७ नागस्वतीमा सुरु गरिने निर्वाचन अधिकृत ढुंगानाले जानकारी दिनुभयो ।













