व्यवस्थापकबाट अध्यक्ष उम्मेदवार बनेका गौतम विवादको केन्द्रमा
११ चैत्र, हेटौँडा । हेटौंडा बचत तथा ऋण सहकारी संस्थाको आगामी चैत १३ गते हुने निर्वाचन दिनानुदिन पेचिलो बन्दै गएको छ ।
विशेषगरी अध्यक्ष पदका उम्मेदवार रामशरण गौतमलाई लिएर शेयर सदस्यहरूबीच तीव्र असन्तुष्टि देखिएको छ ।
करिब २१ वर्षसम्म संस्थाको व्यवस्थापकको जिम्मेवारी सम्हालेका गौतमले सो अवधिमा उल्लेखनीय काम गर्न नसकेको आरोप शेयर सदस्यहरूले लगाएका छन् । सेवा केन्द्र सञ्चालन प्रभावकारी बनाउन नसकिएको, स्थापना भएका केन्द्रहरूबाट पनि आवश्यक सेवा लिन केन्द्रीय कार्यालयमै पुग्नुपर्ने बाध्यता कायम रहेको भन्दै सेवाग्राहीहरूले असहजता भोग्नुपरेको गुनासो गरेका छन् ।
यही पृष्ठभूमिमा, व्यवस्थापक रहँदा अपेक्षित सुधार गर्न नसकेका व्यक्तिले अध्यक्ष पदमा रहेर कति प्रभावकारी काम गर्न सक्छन् भन्नेमा सदस्यहरूले गम्भीर प्रश्न उठाएका छन् ।
यसैबीच, आर्थिक वर्ष समाप्त भएको ९ महिना बितिसक्दा पनि शेयर सदस्यलाई वितरण गर्नुपर्ने बोनस तथा संरक्षित पूँजी फिर्ता कोष रकम उपलब्ध नगराइएको विषयले थप विवाद निम्त्याएको छ । सहकारी ऐनअनुसार यस्तो रकम आर्थिक वर्ष सकिएको ३ महिनाभित्र वितरण हुनुपर्ने व्यवस्था रहेको छ । उक्त रकम कहाँ र किन रोकिएको हो भन्नेबारे सदस्यहरूले स्पष्ट जवाफ मागिरहेका छन् ।
त्यस्तै, वर्षौंदेखि ‘सामाजिक बचत’ शीर्षकमा प्रत्येक सदस्यको खाताबाट मासिक ९१ रुपैयाँका दरले काटिएको रकम—वार्षिक झण्डै ६ लाख ३७ हजार रुपैयाँको उपयोग वा फिर्ताबारे कुनै पारदर्शिता नदेखिएको आरोप समेत उठेको छ ।
संस्थाको कार्यकारी भूमिकामै रहँदा प्रभावकारी काम गर्न नसकेको आरोप खेपिरहेका व्यक्तिले अध्यक्ष पदमा उम्मेदवारी दिनु नैतिक रूपमा कत्तिको उचित हो भन्ने प्रश्न पनि सदस्यहरूले उठाएका छन् । यस्तो अवस्थाले सहकारीभित्र नेतृत्वप्रति विश्वासको संकट गहिरिँदै गएको संकेत गरेको छ ।













