मकवानपुरमा वन डढेलो घट्दो क्रममा

स्वर्णिम खबर
१० चैत्र २०८२, मंगलवार १८:०३

१० चैत्र, हेटौँडा । मकवानपुरमा वन डढेलोको घटना यस वर्ष उल्लेखनीय रूपमा घटेको देखिएको छ ।
२०८१ फागुनदेखि २०८२ जेठसम्म ५ सय ७४ दशमलव २५ हेक्टर वन क्षेत्र डढेलोबाट प्रभावित भएको थियो । सो अवधिमा डढेलोका कारण १ सय २ वटा रुख, १ हजार एक सय ३७ खम्बा, १० हजार दुई सय ९९ लाथ्रा तथा १ लाख ३५ हजार ६२ वटा बिरुवामा क्षति पुगेको तथ्यांक मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । यस आर्थिक वर्षमा चैत महिनामा मात्रै वन डढेलो लागेको थियो । चैत्र महिनामा ५ हेक्टर क्षेत्रफलमा डढेलो लागेको वन कार्यालयले जनाएको छ ।
मकवानपुर जिल्ला देशका ७७ जिल्लामध्ये वन डढेलोको उच्च जोखिममा पर्ने १८ औं स्थानमा रहेको बताइएको छ । यस अवधीमा वन डढेलो नियन्त्रण तथा व्यवस्थापनका लागि कार्यालयले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाइएको छ । पानी पोखरी तथा सिमसार व्यवस्थापन अन्तर्गत २१ स्थानमा नयाँ पोखरी निर्माण भइरहेको छ भने २ सय २५ हेक्टर वन क्षेत्रमा थिनिङ (पत्ल्याउने) कार्य सम्पन्न भइसकेको छ । वन डढेलो नियन्त्रणका लागि ३७ दशमलव १ किलोमिटर पुरानो अग्निरेखा सरसफाइका साथै ४ किलोमिटर नयाँ अग्निरेखा निर्माण कार्य गरिएको छ ।
डिभिजन वन कार्यालय मार्फत् १० वटा र सामुदायिक वन उपभोक्ता समिति मार्फत् ५ वटा गरि १५ वटा पात फुक्ने मेसिन प्रयोगमा ल्याई सुकेका पात व्यवस्थापन गरिएको छ । यसैबीच, २०८२ फागुनदेखि २०८३ जेठसम्म प्रत्येक सामुदायिक वनमा कम्तीमा २ जना वन हेरालु परिचालन गरिएको छ । संघीय वन तथा वातावरण मन्त्रालयले डढेलो नियन्त्रणमा खटिने जनशक्तिका लागि ५ लाख रुपैयाँको सामूहिक दुर्घटना बीमा समेत गरेको छ । चैत्र १ देखि ७ गतेसम्म भएको वन डढेलो व्यवस्थापन अन्तर्गत ८ वटै सब डिभिजन वन कार्यालयमार्फत सचेतनामूलक ¥याली, विद्यालय कार्यक्रम, माइकिङ, नियन्त्रित डढेलो अभ्यास लगायतका कार्यक्रम सञ्चालन गरिएको डिभिजनल वन अधिकृत राकेश कुमार चन्द्रवंशीले जानकारी दिनुभयो ।
मकवानपुर जिलामा २५ वर्षको अवधमिा सबैभन्दा बढी २०१३ मा १२ हजार दुई सय २१ दशमलव ३ हेक्टर वन क्षेत्र नोक्सान भएको थियो भने २०२१ मा ६ हजार ९ सय ७९ दशमलव ९ हेक्टर वन क्षेत्र डढेलोका कारण नोक्सान भएको वन अधिकृत चन्द्रवंशीले जानकारी दिनुभयो । तथ्यांक अनुसार बागमती गाउापालिका र बकैया गाउँपालिका वन क्षेत्र डढेलोको उच्च जोखिममा रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*