चैत्र १३ गतेदेखि हेटौंडामा प्रदेश स्तरीय कृषि प्रदर्शनी मेला हुने
१० चैत्र, हेटौँडा । यही चैत्र १३ गतेदेखि हेटौंडामा बागमती प्रदेश स्तरीय कृषि प्रदर्शनी मेला २०८२ हुने भएको छ ।
मकवानपुर उद्योग वाणिज्य संघको कृषि प्रवद्र्धन समितिको संयोजनमा पहिलो कृषि प्रदर्शनीको रुपमा चैत्र १३ गतेदेखि १६ गतेसम्म कृषि प्रदर्शनी मेला हुन लागेको मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । बागमती प्रदेशभित्रका किसानहरुको मनोबल उठाउन र युवाशक्तिलाई कृषिमा आकर्षित गर्न मेला गर्न लागिएको संघका अध्यक्ष प्रमोद सिंह रानाभाटले बताउनुभयो । पल्पसा सदनमा हुने मेलाको उद्घाटन बागमती प्रदेशका कृषि तथा पशुपंक्षी विकास मन्त्री मधुसुदन पौडेलले गर्नुहुने उहाँले जानकारी दिनुभयो ।
अध्यक्ष रानाभाटका अनुसारमा मेलामा मकवानपुर सहित सिन्धुली, रामेछाप, काभ्रे, काठमाडौँ र चितवनका कृषक तथा कृषि उद्यमीहरुको स्टल प्रदर्शन तथा उत्पादनहरु बिक्री वितरण हुनेछ । प्रर्दशनीमा ४० वटा स्टल निर्माण गरिने भएको छ । ति स्टलहरुमा कोदो, जुनेलो, फापरको पिठो लगायत डेरी प्रोडक्ट, कृषि प्रविधि उपकरणहरु रहने अध्यक्ष रानाभाटले बताउनुभयो ।
कृषि प्रर्दशनीको लागि हेटौंडा उपमहानगरपालिका मार्फत कार्यान्वयन गर्ने गरी ५ लाख ७५ हजार बजेट बनेकोमा बागमती प्रदेशबाट विनियोजित ५ लाख र बाँकी संघको आन्तरिक श्रोतबाट व्यवस्थापन गर्ने आयोजकले जनाएको छ ।














