पाथीभरा मन्दिरमा एकमहिने अखण्ड सहर्ष चण्डी महायज्ञ जारी
९ चैत्र, हेटौँडा । हेटौंडा उपमहानगरपालिका–१ स्थित पाथीभरा मन्दिरमा अखण्ड सहर्ष चण्डी महायज्ञ सञ्चालन भइरहेको छ ।
फागुन १२ गतेदेखि सुरु भएको महायज्ञ आगामी चैत्र १३ गतेसम्म निरन्तर जारी रहने आयोजकले जनाएका छन् । महायज्ञको अन्तिम दिन विशेष रूपमा महामाया भगवती आमाको पूजा–अर्चना गरिनेछ । उक्त दिन नेपाली सेना र नेपाल प्रहरीद्वारा ब्यान्ड बाजासहित झाँकी प्रदर्शन गर्ने कार्यक्रम समेत रहेको पिठाडिस देवदासले बताउनुभयो । महायज्ञ अवधिभर भक्तजनहरूको स्वस्फूर्त सहयोगले व्यवस्थापन कार्य सहज भएको उहाँले बताउनुभयो ।

भक्तिले अर्पण गरिएको सहयोग नै सबैभन्दा अपूर्व हुने उहााको भनाई छ । साथै पाथीभरा लगायतका विभिन्न धार्मिक स्थल समेटिएको पुस्तक छिट्टै प्रकाशन गरी भक्तजनलाई उपलब्ध गराउने तयारी गरिएको समेत उहाँले बताउनुभयो ।
धार्मिक अनुष्ठानकै लागि हेटौंडा आइपुग्नुभएका पूर्वन्यायाधीश गौरीबहादुर कार्कीले सहर्ष चण्डी पाठ दिन–रात निरन्तर अखण्ड रूपमा गरिने भएकाले यसको विशेष धार्मिक महत्व रहेको बताउनुभयो । यस्तो महायज्ञले आध्यात्मिक ऊर्जा वृद्धि गर्नुका साथै समाजमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिन्छ । पाथीभरा मन्दिर मकवानपुर मात्र नभई देशकै महत्वपूर्ण धार्मिक गन्तव्यका रूपमा विकसित हुँदै गएको उहाँले बताउनुभयो ।

ताप्लेजुङस्थित पाथीभरा देवी मन्दिर पुग्न नसक्ने भक्तजनलाई सहज दर्शनको व्यवस्था गर्ने उद्देश्यले यहाँ पनि मन्दिर स्थापना गरिएको हो । वि.सं. २०६३ चैत्र २२ गते ताप्लेजुङबाट माताको प्रतिमास्वरूप एक शिला, एक त्रिशूल र एक कलश ल्याई वि.सं. २०६४ वैशाख १ गते भैरबडाँडामा मन्दिर स्थापना गरिएको थियो । हेटौंडा बजारको बुद्धचोकबाट करिब २ किलोमिटर दूरीमा रहेको मन्दिर परिसरबाट शहरको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ । साथै भैरबडाँडामा रहेको भ्यु टावरबाट राप्ती खोला, आसपासका जंगल र पहाडदेखि तराईसम्मको दृश्य एकै ठाउँबाट हेर्न सकिन्छ । विशेषगरी चैत्र र असोजको नवरात्र, दशैं, साथै शनिबार र मंगलबारका दिन भक्तजनको भीड बढी हुने गरेको बताइएको छ । मन्दिरमा वेदपाठ, गायत्री पुरश्चरण, नवदेवी भागवत, सहर्ष चण्डी पाठ तथा कोटीहोम जस्ता धार्मिक अनुष्ठानहरू हुँदै आएका छन् ।















